अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार १६:५४:२१
♦ राजकुमार पराजुली
१४ असोज, काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा शनिबार करिब दुई सय मिटर सडक रोशी खोलाको बाढीले बगायो । सडक सम्पर्क टुटेपछि यात्रु बाटोमै अलपत्र परेका थिए । अलपत्र परेका यात्रुको आइतबारदेखि हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ ।
राजधानीसँग मध्यपहाडी क्षेत्रहुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दुरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ को सीमास्थल उक्त स्थानमा रोशी खोलाको बाढीले कटान गर्दै करिब दुई सय मिटर सडक बगाएको हो । माथि ठूलो भीर भएको र रोशी खोलाको बहावका कारण आइतबारसम्म कुनैपनि स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन । पानीको बहाव घट्दै गएपछि आज भने रोशी क्षेत्रमा अलपत्र यात्रु हिँडेरै गन्तव्यतर्फ जान थालेका छन् ।
बाढीबाट सबैभन्दा बढी रोशी गाउँपालिका प्रभावित भएको छ । सडक सम्पर्क टुटेपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । आज दिउँसोसम्म रोशी क्षेत्रलगायत स्थानमा फसेका चार सय यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए । आइतबार तीनवटा हेलिकप्टरमार्फत रोशी गाउँपालिका, कोशीपूर्वस्थित भुम्लु, तेमाल गाउँपालिका र पनौतीको रोशी क्षेत्रबाट घाइते, बिरामीलगायतलाई उद्धार गरिएको उनले बताए ।
“आज पनि बिहानैदेखि हेलिकप्टरमार्फत यात्रुको उद्धारकार्य जारी छ । हेलिकप्टरले उद्धार गर्न जाँदा राहत सामग्री बोकेर जाने र आउँदा विभिन्न स्थानमा अलपत्र परेका यात्रुलाई उद्धार गरिरहेको छ”, सहायक प्रजिअ पौडेलले भने ।
रोशी खोलाको बाढीले सडक मात्रै बगाएन, स्थानीयको करिब तीन सय रोपनी खेतसमेत कटान गरेको छ । स्थानीय गोविन्द गौतमले बाढीले बस्ती नजिकको झोलुङगे पुलसमेत बगाएको बताए । “हामी दैनिक कामको सिलसिलामा नमोबुद्धको भकुण्डे बजार र सदरमुकाम जानुपथ्र्यो, सडक नै बगाएपछि कतैबाट पनि जान सकिने अवस्था छैन”, उनले भने । शनिबार बिहानैदेखि उर्लेको रोशी खोलाको बाढीले कटान गर्दै उक्त सडक बगाउँदा नजिकका बस्तीका बासिन्दा त्रासमा रहेको उनले बताए ।
राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ रोशीको माम्तीका भ्याकुरे खोलाको बाढीले ह्युमपाइपसहित बगाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार उक्त स्थानबाट पूर्वतर्फ जाने यात्रुको हेलिकप्टरबाटै उद्धार गर्नुपरेको छ । राजमार्गको मङ्गलटार क्षेत्रमा एक सय मिटर सडक पुरिएको छ भने राजमार्गकै नार्के बजारमा रोशी खोलाको बाढीले कटान गरी १२ घर बगाएको छ । रोशीमा बाढीका कारण ११ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ । उक्त क्षेत्रको विभिन्न स्थानमा सडक कटान गरेको छ भने सडक पुरिएको अवस्थामा रहेको स्थानीय रत्न लामाले बताए । “सडक ठप्प छ, विद्यालय बन्द छन्”, उनले भने । पहाडी क्षेत्र भएकाले पहिरो त्रास रहेको लामाले सुनाए।
चौकीडाँडामा सडक भत्केपछि पैदलयत्रासमेत गर्न कठिन भएको स्थानीय राजेन्द्र श्रेष्ठले बताए। “सदरमुकामसँगको सम्पर्क टुटेको छ, गाउँमा बिजुली छैन, टेलिफोन गर्नसमेत समस्या छ”, उनले भने । श्रेष्ठका अनुसार बगेको सडक पुनःनिर्माण गर्न समय लाग्ने देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा हालको बाढीपहिरोबाट ५७ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । आज दिउँसोसम्म तीन हजार दुई सय ७४ जनाको उद्धार गरिएको छ । चार जना अझै बेपत्ता रहेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए । उनका अनुसार जिल्लाका प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्य जारी राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार
असोज १७, २०८१ बिहिबार
प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार
असोज १४, २०८१ सोमबार
हालसम्म सेनाको हेलिकप्टरबाट १६१ जनाको सकुशल उद्धार
असोज १३, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
यी हुन् सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका ४१ स्थानीय तह
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
स्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
उर्जामा त्रिपक्षीय सम्झौताः बंगालको खाडीसम्म संभावनाको बाढी
असोज १९, २०८१ शनिबार