भैरहवामा संगठित तस्करी, डीएसपी पौडेल सेटिङमै व्यस्त
नेपालबहस संवाददाता
मंसिर २२, २०८१ शनिबार १८:३६:४५
२२ मंसिर, भैरहवा । महिना दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हाजिर भएका प्रहरी नायव उपरीक्षक (डीएसपी) नविन पौडेल तस्करहरूसँग सेटिङ मिलाउन तथा चौकी इन्चार्जहरुसँग महिनावारी असुल्न तल्लीन हुन थालेको समाचार छ । भन्सार छलि चोरी निकासी-पैठारी नियन्त्रणतर्फ ध्यान लगाउनु पर्ने प्रहरी अधिकारी नै उल्टो तिनै अवैध धन्दावालासँग हिमचिम बढाउन मरिहत्ते गर्न थालेपछि त्यो जिल्लाको अवस्था कस्तो होला ? आफै कल्पना गर्नुस् त !
हो, पहिले पाल्पा र हाल रुपन्देही जिल्लाकै सैनामैना नगरपालिका बुद्धनगरका स्थायी बासिन्दा समेत रहेका डीएसपी पौडेलले आफू मातहतका मालदार सीमा प्रहरी चौकी इन्चार्ज (सइ–असई) तथा सो इलाकामा खटिएका घुमुवाहरुलाई थर्काएर महिनावारी माग्न थालेको नाम नबताउने शर्तमा एक प्रहरी चौकीका इन्चार्जले नेपालबहसलाई बताए ।
उनका अनुसार हाल निमित्त प्रहरी प्रमुख समेत रहेका पौडेलले इलाका प्रहरी कार्यालय धकधई, बेथरी, प्रहरी चौकीहरू सेमलपानी, पजरकट्टी, बेलहिया, एयरपोर्ट, मैनाहिया (भगवानपुर) मर्चवार, दुगौलिया(हात्ती बनगाई), इलाका प्रहरी कार्यालय मझगावा, बुचीबर्मा, कर्महवा प्रहरी चौकी, मेउडिहवा प्रहरी चौकी, बेलहिया, बोगटी, करौता, कक्रहवा, पिपरिया र कचरिहवा चौकी, बगाहा, मर्यादपुर, कालीदह, रम्मापुर लगायतका सीमा नाकामा कार्यरत प्रहरी इन्चार्ज तथा तिनका घुमुवाहरुलाई बोलाएर मासिक १० देखि २५ हजारसम्म बुझाउन आदेश दिएका छन् ।
डीएसपी पौडेलले चौकीका घुमुवाहरुलाई बोलाएर सो क्षेत्रका तस्कर, व्यापारीहरूलाई आफूसँग सम्पर्कमा ल्याउने वातावरण बनाउन पनि आदेश दिएको स्रोतको भनाई छ । यस अघिका डीएसपी मनोहर भट्टले चौकीबाट मासिक रकम असुल्ने सिस्टम चलाएको एक प्रहरी अधिकृतले नाम नबताउने शर्तमा नेपालबहसलाई जानकारी दिए । जिल्ला प्रहरी प्रमुख एसपीले मातहत इलाका र चौकीसँग महिनावारी नअसुल्ने भएकाले सो भाग डीएसपीको जिम्मामा पर्ने गरेको ती प्रहरीको भनाई थियो ।
आफू यसै जिल्लाको लोकल भएकाले केही परे मैले नै हेर्ने हो क्यारे भन्दै उनले भैरहवामा सञ्चालित ६ वटा क्यासिनोबाट पनि मासिक ५० हजारका दरले असुली थालेको समाचार स्रोतको छ । भैरहवामा लाकौल, निर्वाण, नान्स, मौर्य, एशियन बुद्ध र टाइगर प्यालेस होटलमा ठूला क्यासिनो सञ्चालित छन् । ती सबै क्यासिनोमा भारतीय नागरिक भन्दा बढी नेपाली नागरिक जुवा खेल्न त्यहाँ पुग्ने गरेका छन् । केही समय अघि एशियन बुद्ध क्यासिनोका महाप्रबन्धकलाई खुकुरी प्रहार गरेको घटना बारे पनि यतिबेला प्रहरीले अनुसन्धान गरिरहेको छ । डीएसपी पौडेलले त्यही अनुसन्धानलाई भजाएर पनि क्यासिनोसँग थप सम्बन्ध बढाएको स्रोतले बतायो ।
यस बारे रुपन्देही प्रहरी प्रवक्तासमेत रहेका डीएसपी पौडेलसँग प्रतिक्रिया माग्दा उनले हास्दै भने “बडा रमाइलो कुरा ! कडा कुरा सुनाउनु भयो त ?” उनले समाचारमा ९९ प्रतिशत सत्यता नभएको बताउँदै यस्ता मनगढन्ते हावा कुरा कसले सुनायो, कसले सेयर गर्यो, कसले पुर्यायाे भन्दै प्रतिप्रश्न गरे । केही नपाएपछि, कसलाई के कुरामा चित्त बुझेको हुँदैन अनि यस्तै कुरा गर्छन् भन्दै उनले सबैको चित्त बुझाउन गाह्रो हुने बताए ।
आईजीपी बसन्त कुँवर की नातेदार पर्ने यस अघिका डीएसपी लक्ष्मी खनाललाई बदनाम गराएर फिर्ता पठाउने खेलोमा पनि पौडेलको संलग्नता रहेको दावी समाचार स्रोतको छ । आफूलाई अर्थमन्त्री विष्णु पौडेलको निकट देखाएर विद्यार्थीकालमा अखिलको राजनीति गरेको फूई पनि उनले हाँक्ने गरेको बताइन्छ ।
प्रवक्ता समेत रहेका डीएसपी पौडेलले कतिपय तस्करहरूसँग भने सिधा आफैंले डिल गर्ने गरेको स्रोतको भनाई छ । स्रोतका अनुसार उनले आफ्ना भान्से र बडीगार्ड मार्फत तस्करहरूलाई फोन गराएर महिनावारीको डिल गर्ने गरेका छन् । ती मध्येका एक हुन भैरहवाका नामुद भैँसी तस्कर कलामुद्धिन मुसलमान । कलामुद्धिनले आफू निकटलाई बताए अनुसार डीएसपी सापलाई मासिक २५ हजार दिँदा पनि भान्सेमार्फत बारम्बार फोन गराएर तनाव दिएको दुखेसो पोखे पछि यस्तो रहस्य बाहिर आएको हो ।
केही दिन अघि मात्र एसपी नभएको मौका पारेर पौडेलले गल्लाको व्यापार गर्ने वीरबहादुर र रामविलास जैसवाललाई आफैंले कार्यालयमा बोलाएर भेट गरेको हल्ला यतिबेला जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरीहरू बीच हुने गरेको छ । नामुद तस्कर बीरबहादुर र जैसवालले भारतबाट ठूलो मात्रामा धान, चामल र गहुँको अवैध पैठारी गर्ने गरेका छन् । यस्तै राम कुमार भन्ने अर्का तस्करसँग महिनावारी ५० हजार लिएर पनि गते १९ गते साँझ आफ्नो ३५ कार्टुन सामान पक्राउ गरेको भन्दै तस्कर रामकुमार रुँदै हिँडेको स्रोतले बतायो । राम कुमारले फलफूल, मिठाइ, कपडा लगायतको चोरी पैठारी धन्दा मेउडिहवा नाकाबाट गर्ने गरेका छन् डीएसपी पौडेल भने आफूले ती कसैलाई नबोलाएको तथा नचिन्ने दावी गरे। नेपालबहसको थप जिज्ञासामा डीएसपी पौडेलले फ्याक्ट पत्ता लगाउनु होला, अनुमानको आधारमा समाचार लेख्नु भन्दा भेरिफाई गरि समाचार लेख्न अनुरोध गरे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको फेसबुक पेजमा राखिएको छ, “जिल्लाबाट खटिएको प्रहरी टोलीले मिति २०८१/०८/१९ गते साँझको समयमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.१ डन्डापुल स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरेको अवस्थामा अं. मूल्य रु.१,७३,९२० बराबरको सामानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।”
एक जना जुनियर प्रहरी कर्मचारी प्रश्न गर्छन्, “नेपाल प्रहरीमा सिपाहीदेखि सईसम्मका प्रहरी कर्मचारीहरूको सरुवा आफ्नो गृह जिल्लामा नहुने मापदण्ड बनाइएको छ तर इन्स्पेक्टर भन्दा माथिका प्रहरी अधिकृतहरूको किन गृह जिल्लामा पनि सरुवा हुन मिल्ने मापदण्ड बनाएका होलान् हाकिम सापहरुले ?”
रुपन्देहीका सबै जसो नाकाबाट संगठित तस्करी मौलाएको छ । तस्करी गर्ने अन्य चर्चित तस्करहरूमा रहमोद मुसलमान, समीर मुसलमान, खली यादव, छोटु, महावीर, अफरोज खान, प्रेम, शैलेश, लल्लु, हैदर अली, शैलेन्द्र, वीरेन्द्र, मोविन, मास्टर, सुवास, अमरजित, अब्दुल, सीताराम,ललु, प्रकाश नामका छन् । तस्करहरूले प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएका छन् । तस्करहरूले साइकल, मोटरसाइकल, ट्याक्टर, मिनी ट्रकमै तस्करी गर्दै आएको प्रत्यक्षदर्शी बताउँछन् । तस्करहरूले सशस्त्र र प्रहरीसँगको सेटिङमा तस्करी गर्दै आएका छन् ।
रुपन्देहीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सेटिङमै तस्करी हुने गरेको छ । रुपन्देहीका लगभग सबै नाकाहरूबाट सीमाका प्रहरी चौकी र घुमुवाहरुको मिलोमतोमा खुलेआम लत्ताकपडा, हार्डवेयर, मोबाइल, कपडा र हार्डवेयर, सुर्ती आलु, प्याज, चिनी, मोटरसाइकल पार्टस्, विद्युतीय सामग्री, किराना सामान, ब्याट्री, खसी बोका, कुखुरा चल्ला, अण्डा, भैँसी, काजु किसमिस, खाद्यान्नलगायत सामग्री व्यापक तस्करी भइरहेको छ ।
भनौं, रुपन्देही यतिबेला तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको छ । जिल्लाका साना ठूला सबै किसिमका नाकाबाट तस्करसँग घुमुवा प्रहरीले लाइन मिलाइ भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ तस्करी गराउँदै आएका छन् । नेपालबाट भारततर्फ लसुन, मरिच, छोकडा, केराउ, कवाड तस्करी हुँदै आएको छ । सीमाबाट २४ घण्टा तस्करहरूले साइकल तथा मोटरसाइकलमा खुलेआम क्षमताभन्दा बढी सामग्री बोकेर नेपालतर्फ तस्करी गरेर विभिन्न स्थानको गोदाममा जम्मा गरिरहेका हुन्छन् । ती सामान गोदाममा जम्मा भएपश्चात् ठूला र मझौला गाडीमार्फत अन्य जिल्लातर्फ पठाउने गरिएको छ ।
एक तस्करका अनुसार प्रत्येक पटकको हिसाबले जिल्ला, इलाका प्रहरी कार्यालय र चौकीहरूमा पैसा बुझाउने हुनाले दैनिक ७ देखि १० औं पटकसम्म सामान ओसारपसार हुने गरेको छ । रातको समयमा गाडीबाट, दिनमा मोटरसाइकल, रिक्सा र साइकलमा चोरी तस्करी भइरहेको छ । सीमा क्षेत्रमा तस्करहरूले गोदाम बनाएका छन् । नेपाली भित्रिने तस्करीको सामान भैरहवा, बुटवलका बजारमा मात्रै होइन, पोखरा, काठमाडौंसम्म पुग्ने गरेको छ । अवैध कुखुराका चल्ला तथा अण्डाको व्यापक तस्करीले आजित भएका लुम्बिनी प्रदेश पशुपंक्षी कुखुरा अण्डा उत्पादक संघले यसअघि संस्थागत विरोध गर्दै विभिन्न निकायमा ज्ञापन पत्र नै बुझाएको थियो ।रुपन्देही प्रहरी प्रमुखमा यतिबेला प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौर कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार