सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
![केदार भट्टराई (काका)](
https://nepalbahas.prixacdn.net/media/albums/Kedar_Bhattarai_0uOymgetS5.jpg
)
केदार भट्टराई (काका)
मंसिर २३, २०८१ आइतबार १६:३२:४
![](https://nepalbahas.prixacdn.net/media/albums/deuba_-_shekar_FK0m12IHrc_VpCckn9GgH.png)
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा फेरी पार्टीका नेताको वरीयता विवाद उत्कर्षमा पुगेको छ । पार्टी विधानमा वरिष्ठ नेताबारे किटान गरेर मापदण्ड नबनाइएकाले सभापति शेरबहादुर देउवापछि कुन नेतालाई स्थान दिने भन्ने विवाद फेरी सुरु भएको छ । शनिवार सम्पन्न कांग्रेस कोशी प्रदेशको सम्मेलनमा पनि यो विवाद देखियो । नेता डा.शेखर कोइराला विराटनगरमा भएको सम्मेलनमा सहभागी भएनन् । उनी पूर्व निर्धारित कार्यक्रम अनुसार चितवन गए पनि वरीयता नमिल्दा सहभागी नभएको चर्चा छ ।
शनिबार प्रदेश सम्मेलनका लागि पार्टी सभापति शेरबहादुर देउवा विराटनगर पुगेर कोइराला निवास गए । देउवा कोइराला निवास विराटनगरमा पूर्व महामन्त्री समेत रहेका बीपी कोइरालाका छोरा डा.शशांक कोइरालाका साथमा निवासमा पुगेका थिए । उनी पुग्दा शेखर कोइराला थिएनन् । सभापतिका प्रत्यासी डा.शेखर कोइराला र सभापति देउवालाई एक साथ नदेख्दा धेरै कार्यकर्ताहरू खिन्न पनि भए । वरीयता नमिलेका कारण नेता कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्दा कार्यक्रमसमेत खल्लो भयो ।
वरीयता विवाद भएपछि कोइरालाले विराटनगरमा हुने सम्मेलनमा सहभागिता नजनाएको उनी पक्षका नेताहरु बताउँछन् । शनिबार उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाको बुवा स्व. भीमकान्त कोइराला र चितवन कांग्रेसका पूर्व सदस्य उद्धव लोहनीको बुवा स्व. टेकबहादुर लोहनीको शोकसभामा सहभागी हुन चितवन गएका थिए । उनीसँगै कांग्रेस केन्द्रीय सदस्य उमा रेग्मी, टेकप्रसाद गुरुङ र गोविन्दराज पोख्रेल, लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, पूर्वसभापति जीतनारायण श्रेष्ठ लगायतका नेता उपस्थित थिए ।
वरीयता विवाद कांग्रेसमा अहिले मात्र भएको होइन । यसअघि कांग्रेस एकीकरणपछि यो विवाद निकै बढेको थियो । रामचन्द्र पौडेललाई वरिष्ठ नेता मानेपनि त्यसपछिको वरियतामा ५ नेताबीच विवाद चलेको थियो । कांग्रेसको विधानमा वरिष्ठ पद छैन । सभापतिसँग चुनावी प्रतिस्पर्धा गरेको निकटतम व्यक्तिलाई वरिष्ठ नेता मान्ने यसअघि कै परम्परा हाे । महाधिवेशनमा सभापति देउवाका प्रत्यासी शेखर कोइराला हुन् । उनले ४० प्रतिशतभन्दा बढी मत ल्याएका थिए । रामचन्द्र पौडेल राष्ट्रपति भएर गएपछि सभापति देउवाले घोषणा नगरे पनि आफूपछि नेता कोइरालालाई नै मान्दै आएका थिए । कतिपय कार्यक्रममा यसरी नै सभापति देउवाभन्दा पछिल्लो स्थानमा कोइरालालाई राख्ने गरिएको थियो ।
सभापति देउवाले यो वरिष्ठ नेता हो भनेर घोषणा गर्दा यो विवाद सकिने भएपनि उनले यसो गरेका छैनन् । यसअघि लुम्बिनी प्रदेशमा पनि पूर्णबहादुर खड्का र शेखर कोइरालाका बीचमा को अगाडि बन्ने विवाद चलेको थियो । अहिले कोशी प्रदेशमा पनि यसरी नै विवाद आएको हो । कोइरालालाई सहमहामन्त्री भन्दा पछाडि लगेर आसनग्रहण गराउने भएपछि उनले त्यो अस्विकार गरे । देख्दै पनि असहज देखियो भने कार्यकर्ताहरूले पनि यसमा प्रश्न उठाएका थिए । मञ्चमा सभापतिपछिको वरियतामा आफू हुनुपर्ने माग कोइरालाको हो । पार्टीको केन्द्रीय वरीयता निर्धारण अनुसार मर्यादाक्रम राखिने भएपछि कोइराला प्रदेश सम्मेलनमा सहभागी भएनन् । केन्द्रीय वरियतामा सभापति देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो स्थानमा छन् ।
पार्टीभित्रको वरीयता विवादले उपसभापति खड्का र संस्थापन इतर समूहको नेतृत्व गर्ने कोइराला एउटै कार्यक्रममा सँगै उपस्थित हुन छाडेको पनि लामो समय भइसकेको छ । देशका विभिन्न ठाउँमा भएका कांग्रेसको कार्यक्रममा सभापति देउवापछिको वरियतामा नेता कोइरालालाई राख्न थालिएको थियो । उपसभापति खड्काले यस्ता कार्यक्रममा आफ्नो मर्यादा दोस्रो नहुने भए उपस्थित नै नहुने गरेका छन् । गत वर्ष कांग्रेसको लुम्बिनी प्रदेश समितिले १६ र १७ मंसिरमा पहिलो सम्मेलन आयोजना गर्दा पनि यही समस्या देखिएको थियो । सो कार्यक्रममा सभापति देउवा, नेता शेखर कोइराला, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु उपस्थित भए । तर उपसभापति खड्का गएका थिएनन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि वरियताक्रम विवाद उठ्ने गरेको छ । १३ औं महाधिवेशन सकिएपछि पनि वरीयता विवाद आएको थियो । १४ औँ महाधिवेशनपछि पनि यो विवाद कायमै छ । त्यतिबेला पाँच केन्द्रीय सदस्यले बैठकमा उपस्थित भए पनि निर्णय पुस्तिकामा हस्ताक्षर गरेका थिएनन् । पार्टीमा आफ्नो वरिताक्रम माथि हुनुपर्ने जनाउँदै हस्ताक्षर नगर्नेमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री कुलबहादुर गुरुङ, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अर्जुननरसिंह केसी थिए । सो समयमा श्रेष्ठले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि पार्टीमा आफू सबैभन्दा वरिष्ठ भएको दावी गरेका थिए ।
सभापति देउवाले वरिष्ठ नेताको मर्यादाक्रम विस्तारै निर्धारण गर्ने भनेका छन् । संस्थापन पक्षका केही नेताबाहेक प्राय ले अहिले शेखर कोइरालालाई नै वरिष्ठ नेता मानेर सम्बोधन पनि गर्न थालेका छन् । कांग्रेसमा सभापतिभन्दा दोस्रो मत उनीसँग भएकाले वरिष्ठ नेताको दावी स्वभाविक पनि देखिन्छ । कांग्रेसमा झण्डै ४० प्रतिशत नेताले उनलाई नेता मानेर अगाडि बढेको अवस्था पनि छ । उनी आगामी सभापतिका दावेदार नेता पनि हुन् । देउवाले उनलाई वरिष्ठ भनेर घोषणा गर्दा कतैबाट विरोध हुने अवस्था पनि देखिएको छन् । तर, देउवाले शेखरलाई वरिष्ठ घोषणा गर्न आनाकानी गरिरहेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार