fbpx

सरकारले घोषणा गरेको अनुदान नपाउँदा भूकम्पपीडित समस्यामा


Share This

नेपालबहस संवाददाता    

ओखलढुंगा । भूकम्पपछि घर भत्किएलगत्तै चर्को ब्याज दरमा ऋण काढेर पुनःनिर्माण गरी बसेका पीडितले मापदण्डअनुसार घर नबनेको भनी अनुदान नपाएपछि समस्यामा परेका छन् ।

घर भत्किएर ओत लाग्ने ठाउँ नभएपछि पीडितले अनुदान पाइएला भनी महँगो ब्याजदरमा ऋण लिई आफैँ पुनःनिर्माणमा जुटे । ऋण गरी घर बनाएर बसे । त्यस्ता लाभग्राहीले मापदण्ड पूरा नभएको भनी हालसम्म पनि सरकारले घोषणा गरेको रु तीन लाख अनुदान पाउन सकेका छैनन् । भूकम्प प्रभावित लाभग्राही सूचीमा परेकाले पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख अनुदान पाउने कार्यविधि छ ।

सिद्धिचरण नगरपालिका–१ तलुवाका ३८ वर्षीय रमेश श्रेष्ठले प्राविधिकले दिएको सल्लाहअनुसार नै आवास पुनःनिर्माण गरेपनि पास हुनसकेको छैन । नगरपालिकाको मूलसडकमा पसल राख्ने उद्देश्यले चारवटा ढोका राखेर दुई कोठे घर बनाएकाले उनको घर पास हुन नसकेको हो ।

जिल्लामा ३५५ घर पुनःनिर्माण मापदण्ड आउनु अगावै बनेका थिए । यसमध्ये २२६ ले दोस्रो किस्तादेखि र १२९ ले तेस्रो किस्ता पाउन सकेका छैनन् । विसं २०७२ वैशाखमा भूकम्पले क्षति पुगेका घर पुनःनिर्माण सम्बन्धी मापदण्ड त्यसै वर्ष माघमा मात्र सार्वजनिक भएको थियो । भूकम्प अति प्रभावित र प्रभावित गरी ३२ जिल्लामा नौ महिनाको अवधिमा बनेका घरपरिवारले अझै अनुदान पाउन सकेका छैनन् ।

सिद्धिचरण नगरपालिका–१ र २ मा खटिनुभएका इञ्जिनियर सञ्जीव यादव कार्यविधि अनुसार ३३ प्रतिशतभन्दा बढी भाग खुला छोडिएको घर पास गर्न नसकिने बताउछन् । भूकम्प प्रतिरोधी नबनेका घरलाई रु तीन लाख अनुदानका लागि सिफारिस गर्न नसकिने उनको भनाइ छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले जिल्लामा २१ हजार १२२ घर पूर्ण रुपमा क्षति भएका थिए । त्यसमध्ये १९ हजार ९७५ घर पुनःनिर्माणको सम्झौता भएको छ । सम्झौता भएकामध्ये पनि १९ हजार ४०५ परिवारले पहिलो किस्ता पाएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार आयोजना प्रमुख विजयमुनि बज्राचार्यले बताए । जिल्लामा ४५६ लाभग्राहीले अझै अनुदान सम्झौता गरेका छैनन् ।

पहिलो किस्ता लिएका १७ हजार २७९ ले निजी आवास पुनःनिर्माण शुरु गरेका छन् । घर निर्माण शुरु गरेकामध्ये १६ हजार ८५५ ले जग निर्माण गरी दोस्रो किस्ता पाएका छन् । पुनःनिर्माण अन्तिमचरणमा पु¥याएका १० हजार ४८६ ले तेस्रो किस्ता बुझेका छन् ।

भूकम्पले आंशिक क्षति भएका दुई हजार ८६२ घर प्रवलीकरण सूचीमा सूचिकृत भएका छन् । प्रवलीकरण सूचीमा सूचिकृत पीडितले रु एक लाख अनुदान पाउँछन् । प्रवलीकरण सूचीमा परेकामध्ये एक हजार १ सय ७४ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेका एक हजार १ सय ४४ ले प्रवलीकरणको पहिलो किस्ता पाएका छन् । घर प्रवलीकरणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले हालै तालीम दिएको आयोजना प्रमुख बज्राचार्यले बताए ।

भौगर्भिक अध्ययनबाट जिल्लामा १६ बस्तीका १ सय ८५ घर स्थानान्तरण गर्नुपर्ने प्रतिवेदन भूगर्भविद्को समूहले दिएको छ । जोखिममा परेका तीन बस्तीका ४८ परिवारलाई सुरक्षित स्थानमा जग्गा खरिद गर्न प्रतिपरिवार रु दुई लाख वितरण गरिएको छ । जोखिम भएको बस्तीमा परेका लाभग्राहीले तीन किस्तामा पुनःनिर्माण अनुदान रु तीन लाख पनि पाउँछन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा भूकम्पले क्षतिग्रस्त भएका घर तीव्र गतिमा पुनःनिर्माण हुँदै । तस्बिर : पूर्णप्रसाद मिश्र

जिल्लामा खिजीदेम्बा गाउँपालिकाको गैरीगाउँ, मोलुङ गाउँपालिकाको प्राप्चा, चम्पादेवी गाउँपालिकाको बिलन्दु, चिसंखुगढी गाउँपालिकाको माम्खालगायत बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । जोखिममा परेका ७१ बस्तीका १ सय २३ घरधुरी स्थानान्तरण गर्न बाँकी छ । दुई बस्तीका नौ परिवारलाई स्थानान्तरण गर्ने प्रक्रिया शुरु भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

लाभग्राही सूचीमा नपरेपछि छ हजार ४ सय ३७ परिवारले एकाइमा गुनासो गरे । स्थानीय तहमा सात हजार ४ सय५८ परिवारको गुनासो दर्ता भयो । जिल्लामा कूल १३ हजार ८ सय ९५ गुनासो परेको छ । गुनासामध्ये पाँच हजार २ सय ६८ को सर्वेक्षण भइसकेको छ । नौ हजार ३११ गुनासोकर्ताको सर्वेक्षण हुन बाँकी रहेको एकाइले जनाएको छ ।

सर्वेक्षण गरिएकामध्ये ९ सय ५७ पुनःनिर्माण लाभग्राही सूचीमा, एक हजार २ सय २० प्रवलीकरण सूचीमा र तीन हजार ३ सय ९४ गैर लाभग्राही सूचीमा परेका छन् । गैर लाभग्राहीमा परेकाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण पुनरावेदन समितिमा आवेदन गर्नसक्ने कार्यविधिमा उल्लेख छ ।

ओखलढुंगा–रुम्जाटार ११।१ किमी र ओखलढुंगा–रामपुर २३ किमी सडक भूकम्पले क्षतिग्रस्त भएपछि पुनःनिर्माणको चरणमा छ । जिल्लामा एकल महिला र पुरुष, वृद्धवृद्धा, बालक, अपांगता भएका व्यत्तिलगायत आफैँ पुनःनिर्माण गर्न नसक्ने ४ सय २३ पीडितको पहिचान भएको आवास पुनःस्थापना तथा पुनःनिर्माण मञ्चका जिल्ला प्राविधिक संयोजक सागरचन्द्र अधिकारीले बताए ।

सिद्धिचरण नगरपालिका–२ निशंखेकी ६६ वर्षीय वृद्धा असारमाया सार्कीले पुनःनिर्माण गर्न नसकेपछि चर्किएकै घरमा बस्न बाध्य हुनुपरेको छ । श्रीमान् वितिसकेको र बाल बच्चा नभएकाले उहाँको घर बनाउने अझै टुंगो लाग्न सकेको छैन । सदरमुकाम ओखलढुंगा बजारसम्म जान नसक्ने केही लाभग्राहीले अझै अनुदान सम्झौता नगरेको सिद्धिचरण–२ का सचिव माधवप्रसाद भट्टराईले बताए ।

सिद्धिचरण– १ र २ मा प्राविधिक सेवा दिन खटिनुभएका इन्जिनियर सञ्जीवकुमार यादव प्राधिकरणले कार्यविधि ल्याउनु अघि नै पुनःनिर्माण भएका घर पास हुन नसकेको बताउछन् ।

भूकम्पपछि अनुदान सम्झौता गरेकालाई प्राधिकरणले छट्टै नम्बर दिन्छ । यस्तो नम्बर फरक परी ८९० पीडित समस्यामा परेका छन् । यस्ता लाभग्राहीको बाबु, बाजेको नाम पनि मिल्दैन । पहिलो किस्ता लगेकाले नलगेको र नलगेकाले लगेको अभिलेखमा देखिन्छ । यो समस्या समाधानका लागि पटक÷पटक प्राधिकरणलाई अनुरोध गरिएको एकाइले जनाएको छ ।

भूकम्पबाट क्षति पुगेका पाँच विद्यालय पुनःनिर्माण सम्पन्न भएको छ भने ९४ विद्यालय पुनःनिर्माण भइरहेका छन् । चारवटा सरकारी भवनको पुनःनिर्माण तथा आठवटाको मर्मत तयारी भइरहेको छ ।

गुम्बा पुनःनिर्माणका लागि २१ वटाको काम भइरहेको छ भने १० वटा स्वास्थ्य चौकीमध्ये छ वटाको प्रिफ्याब तथा ४४ वटा खानेपानी योजनाको पुनःनिर्माण पनि सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

पूर्णप्रसाद मिश्र / रासस

तपाईको प्रतिक्रिया