ट्रेड युनियन खारेज गर्दै सरकार


Share This

नेपालबहस संवाददाता    

बिष्णु घिमिरे

काठमाडौं । निजामती कर्मचारीहरूको टे«ड युनियन खारेज गर्ने कि नगर्ने भन्ने बहस तीव्र भइरहेको छ । ट्रेड युनियनका नेताहरू मालदार कार्यालयमा सरुवा हुने र घुस लिँदै आफ्ना आसेपासे सरुवा गर्ने प्रवृत्ति पछिल्ला दिनमा बढेको छ ।

जसका कारण राजनीतिक दलनिकट ट्रेड युनियनप्रति वितृष्णा बढेको छ । र, अब बन्ने संघीय निजामती ऐनमा दलनिकट ट्रेड युनियन खारेजै गर्नुपर्ने पक्षमा जनमत बलियो बन्दै गएको छ । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद पोखरेल नायबसुब्बादेखि नै गृहमन्त्रालयको आकर्षक मानिने विपत् व्यवस्थापन महाशाखामा कार्यरत छन् ।

उनी सधैँ गृहमा बसी उक्त महाशाखाबाट देश–विदेश घुम्ने, डलरमा भत्ता लिने गर्दैआएका छन् । ट्रेड युनियन अध्यक्ष भएपछि पनि उनले सरकारी गाडी दुरूपयोग गर्दैआएका छन् । असार मसान्तमा सरकारी बजेट सक्न उनले प्रदेश भेला र राष्ट्रिय भेलाका नाममा डेढ करोडको बिल पेश गरेको समाचार छ ।

उनी कर्मचारी सरुवा गर्दा घुस संकलन गर्ने, जिल्ला भ्रमणमा जाँदा ट्रेड युनियनको अध्यक्ष पदको नाममा चन्दा माग्ने, तेलको कुपनसमेत नछाड्ने भनेर चिनिन्छन् । उनी ३ वर्षअघि अधिकृत बढुवा भए पनि अरू सबै अन्यत्र पदस्थापन भए तर उनी गृहमै कार्यरत रहेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९साविक एमाले० निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा लेखाअधिकृतमा बढुवा भएको महिनौँ बितिसकेको छ । उनीसँगै बढुवा भएका सबै पदस्थापन भए । तर उनी दरबन्दी विना नै महालेखा नियन्त्रकको कार्यालयमै अड्डा जमाएर बसेका छन् । उनीमाथि दुर्गममा कहिल्यै काम नगरे पनि कीर्ते प्रमाणका आधारमा बढुवा भएको आरोप छ ।

अर्थमन्त्रालयमा लेखापाल हुँदा उनले कृषिका वैज्ञानिक जानुपर्ने कोटामा बजेट नै निकासा रोक्ने धम्की दिएर चीन भ्रमणमा गएको आरोप छ । ट्रेड युनियनका नेताहरू रोलमोडेल बन्नुपर्ने हो तर उनीहरू राजा–महाराजा बन्ने, सुविधा जति आफू लिनेतिर मात्र केन्द्रित हुँदा ट्रेड युनियनप्रति नकारात्मक धारणा फैलिन पुगेको छ ।

प्रतिपक्षी दल नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल पनि राजस्व समूहबाट अधिकृतमा बढुवा भएको महिनौँ भइसकेको छ । उनीसँगै बढुवा भएका अधिकृतहरू प्रदेश सरकारको अर्थमन्त्रालयमा पदस्थापन भए तर उनको पदस्थापन भएको छैन । पोखरेल राजस्व समूहमा नासु हुँदै विभिन्न आकर्षक कार्यालयमा बसी अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन् ।

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलसँगै अधिकृतमा बढुवा भएका ८३ मध्ये ८२ जना पदस्थापन भए । तर पोखरेलको पदस्थापन भएन । पोखरेलले वर्षौदेखि सहकारी विभागको क्वाटर कब्जा गरी नेताले जस्तो कर्मचारीलाई लाइन लगाएर भेट्ने गर्दथे । पोखरेल निजामती कर्मचारी संगनठका पूर्वअध्यक्ष हुन् । निजामती सेवा ऐनमा ट्रेड युनियनको नेतृत्व तहमा रहेकाहरू कार्यालय प्रमुख हुन नपाउने व्यवस्था छ । तर ऐनको यो प्रावधान विपरीत आधिकारिक ट्रेड युनियनका महासचिव सुबोधकुमार देवकोटा गल्छी–स्याफ्रुबेसी सडक आयोजनाको प्रमुखका रूपमा कार्यरत छन् ।

निजामती कर्मचारी युनियनमा समेत ३ महिनाअघिसम्म अध्यक्ष रहेका देवकोटा यसअघि शहीदमार्ग आयोजना रोल्पाका प्रमुख थिए । उनी निजामती सेवा ऐनविपरीत कार्यालय प्रमुख भएका छन् । रोल्पापछि उनले आरजु देउवाको भिटो प्रयोग गरी अरबौँ बजेट भएको गल्छी–स्याफ्रुबेसी सडकको प्रमुखमा सरुवा भएका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत हुने सडकका सरुवामा विगतमा उनी आरजु देउवाका भाइ भूषण राणासँग मिलेर सेटिङ गर्ने भनेर चिनिएका पात्र हुन् । आरजु देउवाका भाइ राणासँग मिलेर उनले सडकका सरुवामा रमेश लेखक र वीरबहादुर बलायर भौतिक मन्त्री हुँदा बीसौँ करोड रूपैयाँ उठाएको आरोप छ । काँग्रेस निकट ट्रेड युनियनका महासचिव सुवास कोइराला सधैँ अरबौँ बजेट भएका सडक आयोजनाको लेखापालमा कार्यरत रहँदैआएका छन् ।

महालेखा नियन्त्रक कार्यालयले ६ महिनाअघि सामान्य प्रशासन मन्त्रालयको सहमतिविना नै गरेको सडक आयोजनाका लेखापालहरूको सरुवामा कोइरालाको सुर्खेत सडक डिभिजनमा भएको छ । सुर्खेत डिभिजनमा अरबौँ बजेट भएकाले उनले रोजेरै सरुवा भएका हुन् । सुवास कोइराला आधिकारिक ट्रेड युनियनका सदस्य हुन् ।

कोइराला सडकमा लामो समय कार्यरत करोडौँपति लेखापालका रूपमा चिनिन्छन् । मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग पूर्व र पश्चिममा विभाजन नहुँदै उनी करिब ४ वर्ष लेखापाल भएर करोडौँ आर्जन गर्नेमा पर्दछन् । उनको सरुवा गरी अर्का लेखापाल प्रमोद पोखरेललाई मध्यपहाडीमा सरुवा गर्दा सुवास कोइरालाले धर्ना दिएर तहल्का मच्चाएका थिए ।

पछि कोइरालालाई व्यवस्थापन गर्नकै लागि मध्यपहाडी पूर्व र पश्चिम खण्डमा विभाजन गरिएको चर्चासमेत सडक विभागमा चल्ने गरेको थियो । उनी नेपाली काँग्रेसनिकट निजामती कर्मचारी युनियन संघका पूर्वकोषाध्यक्ष र सचिवसमेत भइसकेका छन् । युनियन संघबाटै उनी आधिकारिक ट्रेड युनियनको सदस्य भएका हुन् ।

सुवास कोइराला सडक आयोजनामा लेखापाल भएर बीसौँ करोड रूपैयाँ आर्जन गर्ने भनेर चिनिन्छन् । यी केही उदाहरण हुन्, ट्रेड युनियन नेताहरूले देशको नियम कानुनभन्दा माथि आफूलाई प्रस्तुत गरी फाइदा लिएका ।

नेताहरूका यस्तै व्यवहारले टे«ड युनियन भनेको नेताहरू र तिनका आफन्त र निकटस्थहरूको फाइदाका लागि मात्र हो भन्ने सन्देश प्रवाह भएको छ । जसका कारण ट्रेड युनियनलाई हेर्ने दृष्टि नै नकारात्मक बन्न पुगेको छ ।

ट्रेड युनियन नेताहरूकै कारण ट्रेड युनियनप्रति नकारात्मक धारणा फैलन पुगेको छ । सँगै बढुवा भएका प्रदेशमा जाने, तर ट्रेड युनियन नेता भने कामै नगरी खाने जुन प्रवृत्ति मौलाएको छ । एवम्रितले टे«ेड युनियनमा यसखालको विकृतिका कारण टे«ड युनियनप्रति धारणा फैलिएको छ । र, दल निकट ट्रेड युनियन खारेज गर्न दबाब परेको छ ।

बिष्णु घिमिरेको सामाजिक सञ्जाल फेसबुकको स्टाटसबाट साभार

तपाईको प्रतिक्रिया
Road Show Real State