मन्त्रीद्वयबाट सवारीसाधनको प्रदूषण छड्के चेकजाँच


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आज थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदूषणको छड्के चेकजाँच गरेका छन् ।

विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज मन्त्रीद्वय सडकमै पुगेर प्रदूषण चेकजाँचमा सहभागी भएका हुन् ।

सो क्रममा गृहमन्त्री थापाले स्वस्थ वातावरण भएमात्र नागरिक स्वस्थ रहने भन्दै यसमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए ।
सवारीसाधनले प्रदूषण मापदण्ड पालना गर्नु अनिवार्य रहेको भन्दै यसको नियमित चेकजाँच आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ छ ।

उनले धुलो र प्रदूषण बढ्नुमा भ्रष्टचार पनि जोडिएको भन्दै यसलाई निस्तेज पारिने बताए । वातावरणमन्त्री बस्नेतले वातावरण दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रमको आयोजनाअन्तर्गत आजको कार्यक्रम गरिएको बताए ।

उहाँले वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्रीकै सहभागितामा यही जेठ २२ गते स्वच्छ नेपाल महाभियान शुरु गर्न लागिएको जानकारी दिए ।

प्रदूषण नियन्त्रण, फोहर व्यवस्थापन र हरियाली प्रवद्र्धनलाई एकीकृत गरेर महाभियान शुरु गर्न लागेको उनको भनाइ छ । यो अभियानमा प्रदेश र स्थानीय सरकार, निजी क्षेत्र र यो क्षेत्रमा क्रियाशील संघसंस्थासँग पनि सहकार्य गरिने उनले बताए ।

कार्यक्रममा मन्त्रीद्वय थापा र बस्नेतको पनि सवारीसाधनको प्रदूषण चेकजाँच गरिएको थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State