महाकाली पुल योजना : मुआब्जा माग्दै बुधबारदेखि काममा अवरोध


Share This


नेपालबहस संवाददाता    44 Views

कञ्चनपुर । ४ लेन सडक निर्माणका लागि अधिग्रहण गरिने ऐलानी जग्गाको मुआब्जा माग गर्दै स्थानीयले निर्माण कार्यमा अवरोध गरेका छन् ।महाकालीमा निर्माण गरिने पुलको पहुँच मार्गअन्तर्गत पर्ने ऐलानी जग्गाको मुआब्जा माग्दै बुधबारदेखि काममा अवरोध गरेका हुन् ।

भीमदत्त नगरपालिका-१२ ओदालीमा निर्माण हुने पक्की पुललाई पूर्व-पश्चिम राजमार्गसँग जोड्न पहुँच मार्ग निर्माणको प्रक्रिया अघि बढेको छ । त्यसका लागि १ सय ६५ परिवारको ऐलानी जमिन अधिग्रहण गरिनेछ । पुल आयोजनाले दर्ता जमिनको लगत संकलन र मुआब्जा वितरण तयारी थाले पनि ऐलानीमा बसोबास गरिरहेकाहरूको विषयमा केही नबोलेकाले काममा अवरोध गर्न बाध्य भएको स्थानीयले बताए ।

स्थानीयले बुधबारदेखि भुजेलामा निर्माणाधीन पुलको काममा बाधा पुर्‍याउनुका साथै महाकाली नदीको निर्माण सामग्री ढुवानीमा समेत रोक लगाएका छन् । बिहीबार सामग्री ढुवानीमा अवरोध नगरे पनि पुलका लागि भइरहेको पाइलिङको काम भने रोकिएकै छ । स्थानीयले ऐलानी जग्गा धनीको लगत संकलन सुरु गरेपछि मात्रै निर्माण कार्य अघि बढ्न दिने बताए ।

भुजेला खोलादेखि महाकाली पुलसम्म १ हजार ३ सय मिटर लम्बाइमा निर्माण हुने सडकमा अधिकांश ऐलानी जमिन पर्ने भएकाले मुआब्जा वितरणमा समस्या भएको महाकाली पुल योजनाका प्रमुख प्रदीप भण्डारीले बताए । गड्डाचौकीदेखि महाकाली नगरपालिकाको मलेरिया नालासम्म पुलबाहेक साढे ७ किलोमिटर ४ लेनको पहँुच मार्ग निर्माण हुने भएको छ ।

यो आर्थिक वर्षभित्र जग्गा अधिग्रहणसँगै मुआब्जा वितरणको लक्ष्य राखिएको छ । अर्को वर्षदेखि धमाधम सडक निर्माण गरिने योजना प्रमुख भण्डारीले बताए । महाकाली पारी दोधारामा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहलाई लक्षित गरी महाकाली नगरपालिकाको चाँदनी र भीमदत्त नगरपालिकाको ओदाली जोड्ने ४ लेनको पक्की पुल निर्माण हुन थालेको हो । ३ वर्षभित्र पुल निर्माण कार्य सक्ने गरी ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भइसकेको छ ।

तपाईको प्रतिक्रिया