मेयरले डोजर चलायर उद्घाटन गर्दा पत्रकारसहित ५ घाइते


Share This


नेपालबहस संवाददाता    56 Views

पोखरा । मानवीय अतिक्रमणमा परेको फिर्केखोला किनारमा पैदलमार्ग बनाउने योजनाको मेयरले डोजर चलाएर शुभारम्भ गर्ने क्रममा ५ जना खोलामा खसेर घाइते भएका छन् ।

पोखरा लेखनाथ महानगर प्रमुख मानबहादुर जिसी डोजरभित्र पस्नासाथ घुमेको बकेटले तस्बिर लिन पुगेका सञ्चारकर्मी र हेर्न गएका सर्वसाधारणलाई डोजरले घचेटेको थियो ।

बकेटले ठेल्दा रेलिङ भाँचिएपछि रेलिङसहित पत्रकारहरु रन्जन अधिकारी क्षेत्री र सन्देश श्रेष्ठ, स्थानीय गौरी पौडेल लगायत ५ जना पनि २० मिटर तल खोलामा खसेका थिए।

पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ। अन्य उपचारपछि घर फर्किएका छन्। डोजरको बकेट विस्तारै घुमेकाले ठूलो क्षति हुनबाट जोगिएको हो।

डोजर चलेको हेर्न थुप्रै सर्वसाधारण झुम्मिएका थिए। प्रमुख अतिथि जिसी चढेर सिटमा बसिनसक्दै डोजरको लिभर एक्कासि दब्दा बकेट घुमेको थियो।

महानगर प्रमुख मानबहादुर जिसीले पैदलमार्गको शुभारम्म्भ गर्दै खोला सबै सफाई गरेर छाड्ने जनाए। उनले पैदलमार्गपछि शहरको शोभा बढ्ने भन्दै कसैलाई पनि नोक्सान पुर्‍याउने चाहना नरहेको बताए।

तपाईको प्रतिक्रिया