fbpx

भारतीय सर्वोच्च अदालतको नयाँ मुख्य न्यायाधीशमा रञ्जन गोगोई


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । न्यायाधीश रञ्जन गोगोई बुधबारदेखि भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीश बनेका छन् । सर्वोच्च अदालतको मुख्य न्यायाधीशको रुपमा दीपक मिश्राको कार्यकाल मंगलबारदेखि समाप्त भएपछि आजदेखि गोगाई मुख्य न्यायाधीश बनेका हुन् ।

कार्यकाल समाप्त भएका न्यायाधीश मिश्राको मुख्य न्यायाधीश अवधि निकै उतार चढाव पूर्ण रह्यो । उनी विरुद्ध महाअभियोग लगाउने प्रयास पनि भएको थियो । केही न्यायाधीशले उनको विरोध पनि गरेका थिए ।

तर मिश्राको अध्यक्षतामा रहेका पाँच न्यायाधीशसहितको संवैधानिक इजलासले केही ऐतिहासिक फैसला गरेको छ । यसमा सबैभन्दा अघि आउँछ, केही समय अघि संमलैंगिकतालाई अपराधको सूचिबाट हटाउने फैसला ।

समलैंगिकतालाई अपराधको सूचिमा राखेको धारा ३७७ को व्यवस्थालाई खारेज गर्दै मिश्राको बेन्चले ऐतिहासिक फैसला गरेको हो । यस्तै उनीसहितको बेन्चले धारा ४९७ लाई पनि संविधान विरुद्ध रहेको फैसला गरेको थियो ।

भारतीय अपराध संहिताको धारा ४९७ अनुसार महिलाको शरीरमा उनीहरुकै हक नहुने व्यवस्था रहेको भन्दै त्यसलाई खारेज गरिएको हो ।

यस्तै केरलको सबरीमला मन्दिरमा १० देखि ५० वर्षका महिलामाथि प्रवेशमा लगाइएको रोकलाई पनि मिश्रासहितको बेन्चले अवैध घोषणा गरेको थियो ।

यस्तै सरकारी जागिरमा सूचिकृत जाती तथा जनजातीका कर्मचारीलाई बढुवाका लागि आरक्षणको व्यवस्था कायम गर्न सक्ने तर यसका लागि राज्य सरकारमा अधिकार निहित रहेको फैसला पनि मिश्राकै कार्यकालमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार