विवाह महोत्सव मनाइँदै


Share This

नेपालबहस संवाददाता    

७ मंसिर, काठमाडौं । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ ।

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

महोत्सवका लागि अहिले त्यहाँ श्रद्धालु भक्तजनको ठूलो भिड लागेको छ । जानकी मन्दिरलगायत त्यहाँस्थित देवालयमा बिहानैदेखि पूजाअर्चना पनि भइरहेको छ ।

विगतमा आन्दोलन र विशिष्ट अतिथिको आगमनले विवाह महोत्सव प्रभावित भई भक्तजनको सहभागितामा हुन नसेकेकामा आज भने लाखौँ भक्तजनको सहभागिताले महोत्सव आस्थाको केन्द्र बन्न पुगेको छ ।

महोत्सवमा देवीदेवताको सहभागिता नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म मिथिलावासी सहभागी हुने गर्दछन् ।

मैथिल संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राममन्दिर र जानकी मन्दिरबाट राम र सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी रङभूमिमा लगि स्वयम्बर भएपछि जानकी मन्दिरमा ल्याई विवाह गरिन्छ ।

सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् । महोत्सवमा बिदाइका क्षण कारुणिक हुन्छ, मिथिलावासीले चेली बिदाइको गीत गाउँदा सबैको आँखा रसाउने गरेकाले प्रतीकात्मक विवाह वास्तविक विवाहझै हुने गरेको छ ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेको किंबदन्ति छ । शिवधनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

सो महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेषरूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइएपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।

त्यसअवसरमा निस्केको भगवान्को डोला शोभा यात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रङ्गभूमि मैदानमा वर र कन्या पक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीता रामको प्रतीकात्मक झाँकी र लाखौँ संख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

तिरहुतिया गाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।

देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ । उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा अहिले चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह सम्मन्न गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार