चुनावी प्रचारप्रसार गर्न पूर्वमन्त्री लेखक दोधारा चाँदनीमा


Share This

नेपालबहस संवाददाता    

१३ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा दोस्रो चरणको चुनावी प्रचार कार्यक्रम शुरु गरेका छन् ।

भीमदत्त नगरपालिकामा पहिलो चरणको घरदैलो पूरा गरी नेता लेखक मंगलबार प्रचारमा निस्किएका हुन् । लेखकले दुई दिनसम्म दोधारा चाँदनी क्षेत्रमा प्रचार गर्ने काँग्रेसका क्षेत्रीय प्रवक्ता अफिलाल जोशीले बताए ।

लेखकले साविक चाँदनीमा वडा र टोलस्तरीय चुनावी सभालाई सम्बोधन गरेका छन् । उनले लोकतन्त्रको रक्षा र विकासका लागि आफूलाई जिताउन आग्रह गरे ।

महाकालीमा पक्की पुल र सुख्खा बन्दरगाहलाई चुनावी एजेण्डा बनाएका लेखकले पुल निर्माण, दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताललगायतका एजेण्डा अघि सारेका छन् । प्रदेशसभा सदस्य उम्मेदवार बेलबहादुर रानासहित लेखकले मतदातासँग भोट माग्न व्यस्त छन् ।

यसअघि लेखकले महाकाली नगरपालिका सबै वडामा घरदैलो गरेका थिए । कञ्चनपुर क्षेत्र नं ३ को जितमा दोधारा चाँदनीको मत निर्णायक हुने भएकाले लेखक त्यहाँका मत तान्न लागि परेका छन् । स्थानीय तह निर्वाचन परिणामअनुसार काँग्रेस चाँदनी र एमाले दोधारामा बलियो छ ।

वाम गठबन्धन बनेपछि महाकालीमा काँग्रेस र गठबन्धन दुवैले जितेका वडा बराबरीमा पुगेका छन् । दोधारा चाँदनीमा २२ हजार मतदाता छन् । दोधारा चाँदनीबाट काँग्रेस र गठबन्धन दुवैका प्रदेशसभामा उम्मेदवार भएकाले विगतजस्तो मत नतिजा नआउने स्थानीयवासी बताउँछन् ।

निर्वाचन क्षेत्र नं ३ मा बेदकोट नगरपालिका–८ सहित भीमदत्तका १९ र महाकाली नगरपालिका १० वडा पर्छन् । क्षेत्र नं ३ मा ९२ हजार मतदाता छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार