पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड
इन्द्र रिजाल
साउन ६, २०७६ सोमबार १७:२८:१२
काठमाडौँ । साउन महिनाको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।
साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । भक्तजन भने बिहान ३ः३० बजेदेखि पूजा एवं दर्शनका लागि लाममा बसेका थिए ।
अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
साउन महिना र सोमबार भगवान शिवको महीना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ ।
रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । साउनको सोमबारलाई लक्षित गरेर कोषले अतिरिक्त जुत्ताचप्पल कक्षको व्यवस्था गरेको छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको सदस्य सचिव ढकालले जानकारी दिए ।
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउछन् ।
यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।
गोकर्णेश्वरमा बालयन्त्रको दर्शन
यसैगरी राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भीड लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहेकाले एउटा मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजन अर्को मन्दिरमा पनि जानुपर्ने मान्यतासमेत छ ।
वाग्मतीको मुहानस्थल सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको पनि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भीड लाग्छ । आइतबार राति नै सुन्दरीजल गई बसेका भक्तजन बिहानै स्नान गरी शुद्ध जल लिएर पशुपतिनाथमा चढाइरहेका छन् ।
यसरी जल चढाउने परम्परालाई भक्तजनले बोल बम भन्छन् । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिर पुग्छन् । यसरी बोल बम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् ।
भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूधलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एक पटक साउन महीनामा घर घरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नहुने सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यतासमेत छ ।
नागेश्वरमा भक्तजनको भीड
यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । दर्शनार्थी भक्तजनलाई सुविधा होस् भनी बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले जानकारी दिए । मन्दिरमा दर्शनका लागि भारतीय भक्तजनको पनि भीड लागेको छ । बिहानैदेखि झरी परे पनि छाता ओढेर भक्तजन लाममा बसिरहेका छन् ।
देवघाटमा भक्तजनको भीड
त्यसैगरि पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने र मन्दिरमा पूजापाठ गर्नेको भीड लागेको छ । पानीमा सम्भावित दुर्घटना रोक्नका लागि बोटेको उद्धार टोली तैनाथ गरिएको, सुरक्षाको प्रबन्ध मिलाइएको, प्राथमिक स्वास्थ्य टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको पौडेलले जानकारी दिए ।
तीन जिल्लाको सङ्गमस्थल देवघाट धाममा साउनको सबै सोमबार भक्तजन आउने गर्दछन् । पहिलो र अन्तिम सोमबार यो सङ्ख्या बढी हुने गर्दछ । मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महीनाभर श्रद्धालुले चोखो भएर विभिन्न पूजा आराधना गरेर विशेष रूपमा मनाउँछन् । देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन यहाँ आउने गर्दछन् । पहेँलो बस्त्र लगाएर खाली खुट्टामा समेत बोलबम भन्दै भक्तजन आएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले पुरा गरे शतक विकेट
असार ३, २०८१ सोमबार
सन्दीपले लियो नेपालका लागि बंगलादेशको सातौँ विकेट
असार ३, २०८१ सोमबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार