शनिबार , जेठ १, २०७८

आज महाशिवरात्री, पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

आज महाशिवरात्री, पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौं । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरिका नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्री मनाउने गरिएको हो भन्ने भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । यस वर्ष प्रयागराजमा भएको कुम्भ मेलाका दर्शनार्थीमध्ये केही पशुपतिनाथ मन्दिरमा पनि आएकाले एक साता अघिदेखि नै साधुसन्त लगायत भक्तजनको भीड बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए । गत वर्षदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले कारवाही गर्ने उनले बताए ।

पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

महाशिवरात्रीका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ ।

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक/एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक/एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको उनले बताए । दर्शनका लागि कुनै पनि किसिमका पासको व्यवस्था नगरिएकाले अन्य सबैले लाइन बसेरै दर्शन गर्नुपर्ने छ ।

दिउँसो भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राम मन्दिरतिरबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गर्ने एक लाइनको व्यवस्था गर्ने गरी तयारी गरिएको सदस्य सचिव ढकालले बताए । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान ७ बजे अघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नुपर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चाबहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिने जनाइएको छ ।

हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले बिहानैदेखि भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन शुरु गरेका छन् । आइतबारदेखि नै पश्चिम मूल ढोका अघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन शुरु गएिको छ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।

मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ । फागुनकृष्ण चतुर्दशीमा पशुपतिनाथको शिवलिङ्ग उत्पत्ति भएकाले यस दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

पशुपतिनाथसँगै आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

महाशिवरात्रिको अवसरमा आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय