विराटनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैँले नेतृत्व गरेको १० वर्ष लामो सशस्त्र द्वन्दमा हतियार कहाँबाट आयो भन्ने कुराको थाहा नभएको बताएका छन् । उनले नेतृत्व गरेको तत्कालिन माओवादी अहिले शान्ति प्रक्रियामा सहभागी भएको बताए । उनले अतिवादीलाई राजनीतिलाई सरकारी संयन्त्रमार्फत नियन्त्रणमा ल्याउने कोशिष भइरहेको बताए । शान्ति प्रक्रियामा सहभागी भइसकेको नेकपा (माओवादी)ले हातहतियार व्यवस्थापन गरिसकेको अवस्थामा अहिले त्यो बेलाको हातहतियार कसरी कहाँबाट आयो भन्नेकुरा अहिले पनि आफुलाई थाहा नभएको उनले प्रष्ट पारे ।
नेपाल कम्युुनिष्ट पार्टी(ने क पा)का अध्यक्ष दाहालले अहिलेको अवस्थामा सरकारमा रहेका मन्त्रिहरुलाई परिवर्तन गर्ने कुनै तयारी नभएको पनि बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका दुुई अध्यक्षको बीचमा मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा कुुनै छलफल नभएको प्रष्ट पारे । पूर्वप्रधानमन्त्री दाहालले मन्त्रिमण्डल पुनःगठन प्रधानमन्त्रीको अधिकार भएकाले पत्रपत्रिकामा आएजस्तो यस सम्बन्धमा दुई अध्यक्षबीच कुनै चर्चा नभएको बताए ।
“वर्तमान सरकारले गियर परिवर्तन गरिसकेकाले पछिल्लो निर्णय र विकास निमार्ण घोषणाले पनि सरकारले गति लिएको प्रष्ट हुुन्छ”, उनले भने, “विकास निर्माण र समृद्धिको जनताको सपना पूरा गर्न सरकार सफल हुुनेछ ।” उनले दुुवै पार्टीको एकिकरण कार्य अन्तिम चरणमा पुुगेकाले त्यसलाई टुङ्गो लगाउन मात्र बाँकी रहेको प्रष्ट पारे ।
सङ्घीय समाजवादी फोरमसँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन आवश्यक समयमा गरिने अध्यक्ष प्रचण्डको धारणा थियो । उनले राष्ट्रिय जनता पार्टी(राजपा) नेपाललाई सरकारमा सहभागी गराउने विषयमा कुनै निर्णय नभएको जानकारी दिनुभयो । “राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्बन्धमा कुनै जानकारी आएको छैन”, उनले भने ।