काठमाडौं । नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढेको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ३६ हजार भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएका हुन् ।
२०७२ वैशाख १२ गतेको भूकम्पले तातोपानी नाका बन्द भएपछि यो नाका हुँदै नेपाल भित्रने चिनियाँ पर्यटक बढ्दै गएका हुन् ।
नाका सञ्चालनमा आएदेखिको ५३ हजार ९९ पर्यटक नेपाल भित्रिएकोमा ति मध्ये चिनियाँको संख्या ३६ हजार ६ सय १३ रहेको छ ।
नेपाल आउँदा भिसा शुल्क नलाग्ने र विभिन्न विकास आयोजनामा चिनिया कामदार कार्यरत रहेकाले पनि चिनिया पर्यटकको संख्या बढेको रसुवागढी अध्यागमन कार्यालयले जानकारी दिएको छ ।
सन् २०१६ मा ४ हजार ९ सय ६१ पर्यटक भित्रिएकोमा त्यो संख्या बढेर २०१८ मा १२ हजार ८ सय पुगेको छ । २०१९ को दुई महिनामा मात्रै १ हजार २ सय ८२ चिनिया पर्यटक नेपाल भित्रिएको रसुवागढी अध्यागमन कार्यालय रसुवाले जनाएको छ ।
नेपाल आउने चिनियाँ पर्यटक काठमाडौं, पोखरा तथा लुम्बिनी जाने गरेका छन ्। यही अवधिमा १६ हजार ४ सय ८६ तेस्रो देशका पर्यटक चीन हुँदै नेपाल भित्रिएका छन् ।