३ कार्तिक २०७८, बुधबार

नेपालमा नै पहिलो पटक पानी आउने एटीएम जडान

प्रकाशित मिति :  २१ फाल्गुन २०७५, मंगलवार १७:३७


काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा वाटर एटीएम राखिएको छ । नेपालकै पहिलो यस वाटर एटीएमको खानेपानी मन्त्री बिना मगरले मंगलबार उद्घाटन गरेकी छन् । उद्घाटनपछि मन्त्री मगरले एटीएमबाट पानी झारेर पिएकी थिइन् ।

यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाले जानकारी दिए । पहिलो पटक शुभारम्भ गरिएको वाटर एटीएम मेसिन काठमाडौं उपत्यकाका २० ठाउँमा जडान गर्ने योजना रहेको समेत कार्यकारी निर्देशक राणाले बताए ।

कार्यक्रममा मन्त्री मगरले बाटोमा हिंड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गरिन् । पिउने पानीको गुणस्तरलाई सधैं ध्यान दिई कहीँकतै चुक्न नदिन बोर्डलाई निर्देशन समेत दिइन् । “हामीले किनेर खाने बोतलको पानी कहिलेकाँही त्यसै फालिरहेका हुन्छौं । जति चाहिने हो त्यति पानी पिउनका लागि वाटर एटीएम एकदमै उपयोगी छ । पानीको प्यास मेटाउन वाटर एटीएम सफल हुनेछ ।”

वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । उक्त एटीएमबाट २ सय मिलि लिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य २ रुपैंया र एक लिटर पानीको मूल्य १० रुपैंया राखिएको छ । उक्त एटीएममा २ रुपैयाँको क्वाइन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ ।

बेग्लै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइनेछ । बोर्डले सुपिङ इन्टरनेसनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याएको हो । वाटर एटीएम मेसिन सञ्चालन गर्न बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता समेत भएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता