काठमाडौं । मंगलबार पंचकन्या गाउँपालिकाको कबिलासमा आयोजित धार्मिक अनुष्ठानमा सहभागी हुन पुगेका पूर्व सांसद एवं स्वतन्त्र बामपन्थी नेता गणेश पण्डितको ह्दयाघातका कारण निधन भएको छ ।
ब्रम्हक्षेत्र बिकास समितिले आयोजना गरेको सप्ताहमा प्रवचन दिएको केही समयमा पण्डितलाई ह्दयाघात भई उपचारका लागि काठमाडौं ल्याइएका थियो । शिक्षण अस्पताल महाराजगंजले पण्डितको निधन भएको पुष्टि गरेको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पण्डितका श्रीमती, ३ छोरा र २ छोरी छन् । अमेरिकामा रहेका छोरा किशोर पण्डित र जापानमा रहेका छोरा राजकुमार पण्डित नेपाल आएपछि स्वर्गीय पण्डितको अन्त्येष्ठि गरिने बताईएको छ ।
नुवाकोटमा कम्युनिष्ट राजनीतिको बिजारोपण गर्ने मध्येका एक मानिने पण्डित लामो समय शिक्षण पेशामा रहँदै जनताको जनजीविकाको सवालहरु उठाउँदै अघि बढेका थिए । सोही कारण आजसम्म उनलाई सबैले ‘गणेश सर’को नामले चिन्ने गर्छन । २०४२ सालको राष्ट्रिय पंचायतको निर्वाचनमा जनपक्षीय उमेदवार बनेपछि जिल्लाबासी माझ चर्चित बनेका पण्डित २०४८ सालको निर्वाचनमा तत्कालिन नेकपा एमालेको उमेदवारको रुपमा नुवाकोट क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।