धनगढी । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मलाको हत्या प्रकरणको गहन अनुसन्धान भइरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री थापाले बुधबार पत्रकारसँग कुराकानी गर्दै निर्मला हत्या प्रकरणको अनुसन्धान भैइरहेको बताएका हुन् ।
उनले सिन्डीकेटको पूरै अन्त्य गर्न केही काम गर्न बाँकी रहेको बताउँदै देशबाट सबै प्रकारको सिन्डिकेट अन्त्य गरिने बताए । सरकारमा गएलगत्तै निर्माण व्यवसायीले वर्षौंदेखि अल्झाइ रहेका योजनाका बारेमा सख्त देखिएका गृहमन्त्रीले अहिले पनि त्यसमा ठोस कदम चालिरहेको दाबी गरे।
वर्षौंदेखि निर्माणको ठेक्का लिएर अल्झाई रहेको केही निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याइने काम भइरहेको पनि उनले बताए । उनले सरकारले उत्तरी र दक्षिणी छिमेकीसँग भएको सम्बन्ध विस्तारले पनि छिट्टै समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थकतामा बदलिने बताए ।
मंगलबारदेखि सुदूरपश्चिमस्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो । सुरक्षा गोष्ठीका चारवटै सुरक्षा अंगका प्रमुखको पनि सहभागिता रहेको छ।