काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी दिँदै उनले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव दिए ।
मुलुकमा विभिन्न स्थानमा खानेपानी र सिँचाइको समस्या देखिएको भन्दै उनले त्यसलाई सम्बोधन गर्न जलउपयोग नीति बनाउनुपर्नेमा पनि जोड दिए ।
कृषि उत्पादन बढाउन तथा कृषकलाई उत्प्रेरित गर्न छुट र राहतका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकमा नमूना बनाउने भनेर घोषणा गरेका स्थानमा आवश्यक पूर्वाधार निर्माणको काम भएको नदेखिएको धारणा पनि राखे ।
राजनीतिक प्रणालीमा सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न तथा सदाचारको नीतिलाई प्रवद्र्धन गर्न पनि उनले सुझाव दिए ।राष्ट्रिय विकासका लागि राष्ट्रिय रणनीति तय गर्न संसद्ले पहल गर्नुपर्ने भन्दै भट्टराईले संसद्लाई कर्मकाण्डीक रुपमा नभइ वास्तविक बहस गर्ने थलोको रुपमा विकास गर्न आग्रह गरे ।