काठमाडौं । शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व आज विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । शेर्पा समुदायले आज कुकुर बर्षलाई बिदाई गरी सुँगुर बर्षलाई स्वागत गर्दैछन् ।
शेर्पा संस्कृतिमा मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुने गर्दछ । ग्याल्बो ल्होसार मान्ने समुदायले बाटोघाटो तथा पानीको मुहान सरसफाई, लेनदेनको हिसाबकिताव मिलानलगायतका काम गरी नयाँ वर्षको स्वागत गर्ने गर्दछन् ।
यसैबीच, ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र नेपालीबीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनुका साथै आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न पर्वले सघाउ पुर्याउने विश्वास व्यक्त गरेकी छिन् ।
राष्ट्रपतिको सन्देशमा यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभेच्छा पनि प्रकट गरिएको छ ।