काठमाडौं । सरकारले कृषिमा आधारित जनतालाई व्यावसायिकतातर्फ उन्मुख गराउनेतर्फ गम्भीर रुपमा लागिपरेको जनाएको छ ।
राष्ट्रिय किसान आयोगको आयोजनामा आइतबारदेखि काठमाडौमा सुरु भएको खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी पहिलो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दे प्रधानमन्त्री केपी ओलीले कृषिको व्यावसायीकरण गरी त्यसमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिए ।
परम्परागत कृषि पद्धतिबाट जीवन निर्वाह गरिहेको जनसङ्ख्यालाई व्यावसायिक एवम् आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्न अभिप्रेरित गर्नुपर्ने उनले बताए । देशलाई आर्थिक–सामाजिक रुपान्तरणको मार्गमा अग्रसर तुल्याउन त्यसो गर्नु अपरिहार्य भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
भूमिको अधिकतम् उपयोग गर्ने, विविध बाली विकास गरी जुनसुकै याममा उत्पादन गरिरहने र जग्गा बाँझो छाड्न नहुनेमा जोड दिँदै कृषिमा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्नेतर्फ गम्भीर भएर सोच्न र तद्नुरुप काम गर्नु अहिलेको आवश्यकता भएको उनले बताए ।
उनले भूमि निजी सम्पत्तिका रुपमा रहनु र जमीन टुक्रिनु नै कृषि विकास र कृषिको आधुनिकीकरणका निम्ति ज्यादै ठूलो समस्या रहेको उल्लेख गरे ।
सम्मेलनमा नेपालसहित विभिन्न १५ देशका ३५० प्रतिनिधि सहभागी छन् । सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेश, चीन, श्रीलङ्का, कोरिया, इण्डोनेशिया, मलेशिया, पाकिस्तान, फिलिपिन्स, भियतनामलगायत देशका प्रतिनिधिहरु सहभागी रहेको आयोगले जानकारी दिएको छ ।