काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘ने क पा’ का नेता एवं असन्तुष्ट समुहसँग वार्ताका लागि सरकारले बनाएको उच्चस्तरीय वार्ता समितिका पूर्व संयोजक सोमप्रसाद पाण्डेले सिके राउत समुहलाई आफ्नो एजेण्डा छोडेर अखण्ड राष्ट्रको एजेण्डामा सहमत गराउनु सरकारको ठूलो उपलब्धि भएको बताएका छन् ।
सोमबार सम्वाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै पाण्डेले सो कुरा बताएका हुन् । नेता पाण्डेले राउतसँगको सहमति अचानक नभई उनका सहोदर दाजुसँगको पटक–पटकको वार्ता र छलफलबाट मात्रै सम्भव भएको खुलासा गरे ।
सिकेले स्वतन्त्र मधेसकै लागि सरकारसँगको सहमतिलाई रणनीतिक रुपमा प्रयोग
देश विखण्डनको नारा लिएर गतिविधि गरिरहेको सो समूह उक्त मुद्धा छोड्न तयार भएको समेत उनले बताए । उनले भने, ‘मेरो संयोजकत्वको वार्ता टोलीले पटकपटकको छलफलबाट सहमतिको वातावरण बनाएको थियो, पछिल्लो समय प्रधानमन्त्री र शीर्ष तहको नेतृत्वले नै राउतलाई सहमतिमा ल्याउन अग्रसरता देखाएको हो ।
पाण्डेले भने, ‘फेरि पनि सिकेले स्वतन्त्र मधेसकै लागि सरकारसँगको सहमतिलाई रणनीतिक रुपमा प्रयोग गरिरहेका त छैनन् भन्ने शंका उत्पन्न भएको छ ।’ यदि उनले सरकारसँग भएको सहमतिलाई अपव्याख्या गरेर पुरानै गतिविधिलाई निरन्तरता दिइरहे सरकार चुप लागेर बस्न नसक्ने समेत पाण्डेले स्पष्ट पारे ।
पाण्डेले जनअभिमतको अर्थ जनमत संग्रह हुनै नसक्ने भन्दै देश विखण्डनको एजेण्डामा जनमत संग्रह गर्ने कुरा आफूहरुले कल्पनासमेत गर्न नसक्ने जिकिर गरे ।
राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिकेबीच भएको ११ बुँदे सहमतिको ड्राफ्ट अन्यत्रैबाट आएको दावी गरे । ड. केसीले ड्राफ्ट अंग्रेजीमा बनेको र त्यसको उल्था नेपालीमा गर्दा भाषामा समस्या भएको दावी गरेका छन् । केसीले विगतमा भएका महत्वपूर्ण सहमति पनि विदेशी भूमिमा भएकाले शंका गर्ने आधार धेरै भएको उनले प्रष्ट पारे ।