काठमाडौं । दश महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको छ ।प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने गरी बिहीबारबाट छलफल सुरु गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहभागी थिए । उनीहरूबीच अढाई घन्टा छलफल भएको हो ।
पहिलो चरणमा जिल्ला अध्यक्ष र सचिवको सूची टुंगो लगाउन सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्ताव लैजाने गरी ‘निर्णायक छलफल’ अघि बढेको नेताहरूले बताएका छन् ।
‘एक–दुई दिनमै टुंगिन्छ कि टुंगिँदैन, तर फेरि छलफलको क्रम सुरु हुन खोजेको छ । विधि र मापदण्डका आधारमा पार्टीलाई एकताबद्ध गरेर लैजाने सोच हो भने छिट्टै टुंगिन सक्छ,’ बैठकपछि नेता नेपालले भने, ‘ढिलाइ भो, बैठक बसेन, भेटै भएन भने त हुन सक्दैन । तर, अहिले धेरै ढिलाइ भइसकेकाले दुई दिन होइन, आमचाहना एक दिनमै होस् भन्ने छ । अहिले त्यस दिशामै छलफल अघि बढ्ने सकारात्मक संकेत देखिएको छ ।’
एकीकरणको बाँकी कामसमेत टुंगो लगाउन बनेको नौ सदस्यीय कार्यदल भंग भएपछि नेकपाका शीर्ष नेताहरू छिटो एकीकरण टुंग्याउनुपर्ने दबाबमा छन् । एकीकरण अल्झिएपछि नेकपाको सांगठनिक गतिविधि ठप्प छ भने देशभरका करिब ८ लाख पार्टी सदस्य निष्क्रिय छन् ।
अध्यक्षद्वय ओली र प्रचण्डले गृहकार्य गरेर तयार पारेको जिल्ला अध्यक्ष र सचिवसहित जिल्ला कमिटीको सूचीमा शीर्ष नेताहरूले छलफल सुरु गरेका छन् । पूर्वएमाले र पूर्वमाओवादी समूहमध्ये एउटाले अध्यक्ष लिए अर्कोले सचिव लिने गरी बनेको प्रस्तावमा पालैपालो जिल्ला टुंगो लगाउँदै जाने दिशामा छलफल भइरहेको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।
‘दुई अध्यक्षले आ–आफ्नो समूहलाई समेटेर प्रस्ताव तयार पार्नुभएको छ । त्यही प्रस्तावमा अरू नेताहरूसँग पनि छलफल अघि बढेकाले लगातार यो क्रमले निरन्तरता पाउँदा अब दुई–तीन दिनकै बीचमा पहिलो चरणमा जिल्ला एकीकरण टुंगो लाग्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले जनायो ।
अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचारका लागि अमेरिका जाने तयारीमा रहेकाले पनि पहिलो चरणमा केही दिनमै जिल्ला एकीकरण टुंगो लगाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।