विराटनगर । पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २–० ले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा भएको समूह बीअन्तर्गतको खेलमा श्रीलङ्का विजयी भई अन्तिम चारमा पुगेको छ । श्रीलङ्काको जितमा दुवै गोल आरएम चलानीकुमारी इकानायाकेले गरिन् ।
इकानायाकेले खेलको ४० औँ मिनेटमा पहिलो गोल गरिन भने दोस्रो गोल खेलको ५० औँ मिनेटमा गरी आफ्नो टोलीलाई तीन अङ्क दिलाउल सफल भएकी छिन् । श्रीलङ्काले खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेको थियो भने माल्दिभ्सका खेलाडीले केही गोल गर्ने अवसर गुमाएका थिए ।
अन्तिम चारमा पुग्ने ‘ए’ समूहअन्तर्गत नेपाल र बङ्गलादेश तथा बी समूहअन्तर्गत श्रीलङ्का र भारतका टोलीले अब एक–एक खेल खेल्न बाँकी रहेको छ ।
भुटान र माल्दिभ्स समूह चरणको दुवै खेलमा पराजित भई बाहिरिएका छन् । शनिबार नेपालले समूह ‘ए’ को अन्तिम खेल बङ्गलादेशसँग प्रतिष्पर्धा गर्दैछ । यो खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।