स्याङ्जा । गण्डकी प्रदेशले प्रदेशभित्रका होमस्टे (ग्रामिण घरबास) कार्यक्रमलाई दिएको अनुदान रकममा स्याङ्जाका ४२ होमस्टेले सम्झौता गरेको छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगत विनियोजित रकम १० लाखका दरले कुल रु.४ करोड २० लाख रकम सम्झौता गरिएको हो ।
चालु आर्थिक वर्षलाई प्रदेश सरकार, गण्डकीले प्रदेश भ्रमण वर्ष घोषणा गरेको छ । घोषित कार्यक्रमलाई प्रभाबकारी बनाउन अनुदान रकम दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लाभित्रका होमस्टेलाई व्यवस्थित र स्तरउन्नती गर्नका लागि ३० करोड रकम विनियोजन गरिएको छ । उक्त रकमबाट ३ सय होमस्टे बन्ने मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।
स्याङ्जाबाट आबेदन दिएका ४५ होमस्टे मध्ये ४२ होमस्टेलाई छनौट गरि अनुदान रकम दिइएको हो । जिल्लाका ११ स्थानीय तहमध्ये नगरपालिकातर्फ गल्याङ्ले १२, वालिङले ११, पुलतीबजारले ६ र भीरकोटले ३ वटा होमस्टे अनुदान लगेका छन् । अनुदान लग्ने होमस्टेमा गाउ“पालिकातर्फ आँधीखोला, कालीगण्डकीमा ३/३ वटा, फेदीखोलामा २, अर्जुनचौपारीमा १ र बिरुवामा १ रहेका छन् ।
“प्रदेश सरकार बनेको छोटो समयमा कर्मचारीको व्यवस्थापन नगर्दै ठूलो रकम अनुदान दिदाँ प्रभाबकारी कार्यान्वयन हुनेमा समस्या देखिन्छ ।” डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख डिभिजनल वन अधिकृत अजय कार्कीले भने, “कार्यान्वयनको संयन्त्र नबन्दै अनुदान रकम पनि दामासाहीले वितरण गरिएको छ ।”
साविककै वन कार्यालयको योजना थेग्ने कर्मचारी छैनन्, मन्त्रालय थपेर काम थपिँदा थप जनशक्ति अभाव भएको कार्कीले सुनाए । प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर पनि अनुगमन गर्ने निकाय नबनाएर कमजोरी गरेको कार्कीको बुझाई छ । वनका कर्मचारीले पर्यटनको काम गर्नुपर्दा अलमल सृजना भएको उनले बताए ।
“अनुदान लग्ने होमस्टमा नयाँ ६० र पुराना ४० प्रतिशत छन् ।” सम्झौतामा ब्यस्त सहायक वन अधिकृत पूर्णप्रसाद भारतीले भने, “सम्झौता भएका होमस्टेको कुल लगानीमा सम्बन्धित स्थानीय तह १० र उपभोक्ताले २० प्रतिशत श्रमदान गर्ने व्यवस्था गरिएको छ ।” समुदाय र स्थानीय तहले गर्ने लगानी सुनिश्चित नभएको दाबी गर्दै भारतीले भने, “मन्त्रालयले दिएको यहि १० लाखले काम गरे राम्रो हुन्छ ।”
“गाउँ–गाउँमा ग्रामिण पर्यटक प्रबद्र्धनमा होमस्टे आकर्षणको केन्द्र बनेका छन् ।” मिलेनियम भैसेंगौडा सामुदायिक होमस्टे पुलतीबजार ७ का अध्यक्ष बालकुमार गुरुङ्ले भने, “स्थानिय उत्पादन हुन छाड्दै जानुले ग्रामिण पर्यटनमा उत्साह आएको छैन् ।” हामीले २ वर्षदेखि होमस्टे चलाएका थियौं, अनुदान रकमले थप व्यवस्थित बन्नेमा गुरुङ्ले आशा जनाए ।
“नेपालकै पहिलो ग्रामिण पर्यटकीय गाउँ ‘पञ्चमूल सिरुवारी’ स्याङ्जाकै आँधीखोलामा पर्छ भन्ने त थाहा थियो ।” गराङ्दी सामुदायिक होमस्टे गल्याङ् २ का सदस्य अशोक थापाले भने, “१० लाख लगेर २० घरमा ६० पर्यटक बसाउन सकिने गरि काम शुरु गरेका छौं ।” होमस्टे गाउँहरुको अवलोकन, तालिम लिएर गराङ्दीलाई नयाँ गन्तव्य बनाउन लागेको थापाले बताए ।