काठमाडौं । राष्ट्रवादी अभियन्ता फणिन्द्र नेपालको चाबहिलस्थित निवासमा बिहीबार प्रहरीले खानतलासी गरेको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका नेपालले बिहीबार भारतीय विदेश सचिव विजय गोखले नेपाल आउँदा सांकेतिक विरोध गर्ने तयारी गरेका थिए ।
नेपालले आफू घरबाहिर रहेको बेला आज बिहान ८ बजे नेपाल प्रहरीका ६ जनाले घरमा पसेर सोधपुछ तथा खानतलासी गरेको जानकारी दिएका छन् ।
खानतलासी र पक्राउ पूर्जी बिना घरभित्रै धरपकडको प्रयास गरिएको भन्दै उनले फेसबुकमा विरोध जनाएका छन् ।
‘यस प्रकारको प्रहरी क्रियाकलापले नागरिकको वाक् तथा प्रशासन स्वतन्त्रताको हनन भएसँगै मेरो मानव अधिकारको पनि हनन भएको छ,’ नेपालले भनेका छन्, ‘सरकारले यस्तो आतंक बन्द गरोस् भन्ने चाहन्छु ।’