६ माघ २०७८, बिहीबार

नेविसङ्घ स्वर्ण जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति :  ६ बैशाख २०७६, शुक्रबार १०:१८


काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ‘नेविसङ्घ’ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ ।

विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसङ्घको स्थापना भएको थियो ।

त्यस समय यता नेविसङ्घले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । स्वर्ण जयन्तीको अवसरमा नेविसङ्घ काठमाडौँले पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उपत्यकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

यसैगरी, नेविसङ्घ निवर्तमान केन्द्रीय समितिले ‘वर्तमान परिस्थिति र नेपाल विद्यार्थी सङ्घको भूमिका’ खुला बहस कार्यक्रम, नेविसङ्घ पद्यकन्या बहुमुखी क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम, नेविसङ्घ धादिङ काठमाडौँ सम्पर्क समितिले दीप प्रज्वलन कार्यक्रम, नेपाल ल क्याम्पसको आयोजनामा चियापान तथा दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।

नेविसङ्घका विभिन्न जिल्ला समितिले पनि आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउन लागेका छन् । नेविसङ्घका नेता लीलावल्लभ दाहाल ‘काका’ नेविसङ्घको केन्द्रीय समिति नभएको वर्तमान अवस्थामा विभिन्न जिल्ला र क्याम्पस समितिको आयोजनामा स्थापना दिवस मनाउन लागिएको बताए ।

नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी नेविसङ्घको स्वर्ण जयन्ती केन्द्रीय समिति नभएको अवस्थामा दुःखदका साथ मनाउनुपरेको बताएका छन् । “इतिहास बोकेको विद्यार्थी सङ्गठनको स्वर्णदिवस नेतृत्व नभएको अवस्थामा मनाउनु परेको छ”, उनले भने ।

विसं २०२७ मा स्थापना भएको नेविसङ्घको वर्तमान नेतृत्वले राजीनामा दिएसँगै नेविसङ्घ केन्द्रीय समिति अहिले नेतृत्वविहीन बन्न पुगेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा