६ माघ २०७८, बिहीबार

तेस्रो श्रमशक्ति सर्वेक्षण : नौ लाख मात्र बेरोजगार

प्रकाशित मिति :  १३ बैशाख २०७६, शुक्रबार १९:४८


काठमाडौं । मुलुकमा नौ लाख युवा मात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये नौ लाख आठ हजार व्यक्ति बेरोजगार रहेको देखाएको छ ।

जसमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन् । बेरोजगारमध्ये बसोबासका आधारमा छ लाख ४० हजार शहरी क्षेत्रमा र दुई लाख ६८ हजार ग्रामीण क्षेत्रमा छन् ।

सर्वेक्षणले नेपालको बेरोजगारी दर ११.४ प्रतिशत देखाएको छ । पुरुषको तुलनामा महिलामा बेरोजगारीको दर बढी रहेको पाइएको छ । पुरुषको र महिलाको बेरोजगारी दर क्रमशः १०.३ र १३.१ प्रतिशत छ । यसैगरी शहरमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगारी छ ।

त्यस्तै १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको दुई करोड सात लाख ४४ हजारमध्ये ७० लाख ८६ हजार जनसङ्ख्या कुनै न कुनै रोजगारीका क्षेत्रमा रहेको पाइएको छ । यसमा ४४ लाख ४६ हजार पुरुष र २६ लाख ४० हजार महिला छन् । रोजगारीका क्षेत्रमा रहेको जनसङ्ख्या काम गर्ने उमेर समूहअन्तर्गतको जम्मा जनसङ्ख्याको ३४.२ प्रतिशत रहेको छ ।

यसैगरी बसोबासको आधारमा रोजगारीका क्षेत्रमा रहेको जनसङ्ख्यामध्ये ४९ लाख एक हजार शहरी क्षेत्रमा रहेको र २१ लाख ५ हजार ग्रामीण क्षेत्रमा रहेको सर्वेक्षणले देखाएको छ ।

जम्मा रोजगारीमा रहेको जनसङ्ख्यामध्ये ६९ प्रतिशत शहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा छन् । रोजगारीमा रहेको पुरुषमध्ये शहरमा ६ र ग्रामीण क्षेत्रमा ३२ प्रतिशत छन् । यसैगरी रोजगारीमा रहेका महिलामध्ये ७० प्रतिशत शहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको पाइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा