२२ मंसिर २०७८, बुधबार
राजनीति

१५ बुँदे विशेषता भएको समाजवादी पार्टी नेपाल घोषणा

प्रकाशित मिति :  २३ बैशाख २०७६, सोमबार १८:१९


baburam-upendra

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भई नयाँ ‘समाजवादी पार्टी नेपाल’ घोषणा गरिएको छ ।

अध्यक्ष यादव र डा भट्टराईले आज आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाएका थिए । अध्यक्षमण्डलमा दुई जना रहने पार्टीको संरचनाबमोजिम समाजवादी पार्टीका अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने जनाइएको छ । पार्टी केन्द्रीय समिति अध्यक्षमा यादव र सङ्घीय परिषद्का अध्यक्ष डा. भट्टराईले जिम्मेवारी पाएका छन् ।

पार्टी एकीकरण घोषणापछि नेताद्वय यादव र डा. भट्टराईले समाजवादी आन्दोलनको नयाँ युगको प्रारम्भ भएको र यसले सबैखाले उत्पीडनमा परेका जाति र समुदायको हकहितका लागि हिमाल, पहाडदेखि तराईसम्म एकीकृत ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाए । समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

नव गठित समाजवादी पार्टीले लिएको विशेषगरी ३ वटा विचारधारा फरक देखिएको छ । पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमा आधारित शासकीय प्रणाली अपनाउने उल्लेख गरेको छ । यस मध्ये प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दा धेरै पहिलेदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठाउँदै आएको मुद्दा हो ।

त्यस्तै संविधानसभाद्वारा गठित उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १०ं१ प्रदेशहरुको रचना गरिनुपर्ने मुद्दा समेत पार्टीले लिने भएको छ । पार्टीको बैचारिक धार दुबै पार्टीले लिएको सिद्धान्तको मिश्रित रुपबाट तयार पारिने उल्लेख छ । पार्टीले समाजवादी पार्टीको राजनीतिक कार्यदिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिलाई रक्षा र विकास गर्नु रहने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

मौलिक विशेषताको आधारमा राज्य चलाउनु पर्ने धारणा राख्ने सो पार्टीले विभिन्न १५ किसिमका मौलिक विशेषताहरु पनि तयार पारेको छ । पार्टीले उल्लेख गरेका मौलिक विशेषताहरू :
१. राष्ट्रिय स्वाधीनता,
२. सङ्घीय शासन
३. समाजवादी व्यवस्था
४. सहभागितामूलक समावेशी लोकतन्त्र
५. राष्ट्रिय पहिचान
६. सामाजिक न्याय
७. समतामूलक समृद्धि
८. लोक कल्याणकारी राज्य र सामाजिक सुरक्षा
९. सुशासन र सदाचार
१०. समानुपातिक समावेशीकरण
११. स्यशासन तथा स्वायत्तता
१२. सांस्कृतिक बहुलता
१३. समानुपातिक निर्वाचन प्रणाली
१४. पर्यावरणीय सन्तुलन
१५. बहुलतायुक्त समाज र राष्ट्रिय एकता जस्ता बुँदाहरु समेटिएका छन् ।

पार्टीको वरिष्ठ नेता अशोककुमार राई रहने छन् भने सहअध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ । यस्तै उपाध्यक्षहरूमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई छन् ।

महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा र रामसहायप्रसाद यादव छन् । उपमहासचिव डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी र सचिवहरुमा मोहम्मद इस्तियाक राई, दूर्गा सोव, परशुराम बस्नेत र प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्षको जिम्मेवारी विजयकुमार यादवले पाएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा