८ आश्विन २०७८, शुक्रबार

पार्टी एकता देखेर के गरेर बिथोल्न सकिन्छ भन्नेहरु बढ्दैछन् :- प्रचण्ड

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार १८:४१


prachanda

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताए । तत्कालीन नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य सीमा विकलाई आज पार्टी मुख्यालय धुम्बाहारीमा पार्टी प्रवेश गराउँदै उनले बाँकी रहेका पार्टी एकताको काम अन्तिम चरणमा पुगेको बताए।

‘‘आज मात्र हामीले पार्टी एकताको काम एक कदम अगाडि बढ्ने गरी गरेका छौँ’’, उनले भने, ‘‘पोलिटब्यूरो, जनवर्गीय सङ्गठनको एकता र केन्द्रीय सदस्यको कार्यविभाजनको केही दिनमा टुङ्ग्याएर हामी सार्वजनिक गर्दछौँ ।’’

अध्यक्ष दाहालले एउटै कम्युनिष्ट पार्टी बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने पार्टी लागिपरेको समेत बताए । २०१९ सालबाट विभाजित कम्युनिष्ट दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि एकीकृत कम्युनिष्ट पार्टी बनेको उल्लेख गरे । उनले नेकपामा प्रवेश गर्नेको लहर देशव्यापी रुपमा बढेको बताए । ‘‘पार्टीमा जोडिनका लागि थुप्रैसँग सम्पर्क भइरहेको छ । हामी पनि यही पार्टीमा जोडिन चाहन्छौँ भनेर देशभरबाट खबर आइरहेका छन्’’, उनले भने, ‘‘केही दिनमा ठूला, साना कम्युनिष्ट पार्टी नेकपामा जोडिन आउनेछन् । पार्टीलाई अझ पूर्णता बनाउने हो ।’’

अध्यक्ष दाहालले पार्टी एकता देखेर के गरेर बिथोल्न सकिन्छ र के गरेर नेताबीच कचिङ्गल गर्न सकिन्छ भनेर प्रयास भइरहेको भन्दै ती प्रतिक्रियावादीका भ्रमलाई परास्त गदै पार्टी एकतालाई अगाडि बढाइने जानकारी गराए । उनले कम्युनिष्ट आन्दोलन मुलुकमा समाजवादको आधार निर्माण गर्ने कडीका रुपमा रहेको बताए । उनले विगतको अनुभवको समीक्षासहित जनताको चाहना तथा उत्साह हुने गरी नीति तथा कार्यक्रममा समेटिएका कुरालाई आधार बनाएर बजेट बनाइने बताए ।

विकलाई अध्यक्ष दाहालले टीकामाला लगाई पार्टी प्रवेश गराउनु भएको थियो । विकले नेकपाको सिद्धान्त विचारले नै मुलुकलाई सही दिशा दिने भएकाले प्रवेश गरेको बताए । उन जनमुक्ति पार्टीबाट दोस्रो संविधानसभा सदस्य रहेका थिए । पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल सहभागी थिए ।

सधैँका लागि शान्ति प्रक्रिया टु्ङ्गिएर विश्वमा नमूना बनोस्

अध्यक्ष दाहालले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुङ्गिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा गरी विश्वमै उदाहरणीय बनाउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्ति प्रक्रियाका केही कुरा पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै आफैँले शुरु गरेको शान्ति प्रक्रिया पूरा गर्न सहयोगी हातको खाँचो रहेको औंल्याए । दिवङ्गत मानव अधिकारवादी नेता पद्ममरत्न तुलाधरको जीवनीमा जितेन्द्र रसिकद्वारा लिखित पुस्तक ‘सर्वरत्न’को आज लोकार्पण गर्दै अध्यक्ष दाहालले विविध कारणले सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगले काम गर्न नसकेकाकाले ऐन संशोधन र दुवै आयोग बनाउने प्रक्रिया अघि बढेको जानकारी दिए ।

उनले विगतमा जसरी पद्ममरत्न तुलाधर र दमनाथ ढुङ्गानाले सहजकर्ताको भूमिका निभाएर शान्ति प्रक्रिया अगाडि बढ्यो त्यसैगरी ढुङ्गाना, चरण प्रसार्इंलगायतले भूमिका खेल्ने बेला आएको बताए । “म सबैसँग अपिल गर्न चाहन्छु, अन्तर्राष्ट्रिय मान्यता सत्यनिरुपण र मेलमिलापसम्बन्धी नेपालको राष्ट्रिय आवश्यकता, हामी आफैँले गरेको शान्ति प्रक्रिया र त्यसको पनि निकै संवेदनशील तथा जटिल पक्ष सेना समाजोजन, हतियार व्यवस्थापन, लोकतान्तिकीकरण तथा मानव अधिकारलाई सम्मान गरेर निष्कर्षमा पु¥याउन आम नेपालीको हात जुटोस्”, उनले भने ।

“एकपटक र सधैँका लागि यो प्रक्रिया टुङ्ग्याइयोस् र नेपालको शान्ति र यसका निष्कर्ष विश्वभरि उदाहरण बन्न सकुन्, म दमनजी र चरण जीलाई सहयोगका लागि अपिल गर्न चाहन्छु,” अध्यक्ष दाहालले थपे । शान्ति प्रक्रिया टुङ्ग्याउनु पनि तुलाधरलाई सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गर्दै उहाँले आज मात्रै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा तुलाधरले देशमा गरेको योगदान र उहाँप्रतिको सरकारको सम्मानमा तालमेल नभएको हो कि भन्ने चर्चा भएको जानकारी गराए । अध्यक्ष दाहालले उनको बहुआयामिक व्यक्तित्व र योगदानका बारेमा राज्यकोतर्फबाट गर्ने भूमिकाबारे एकपटक राम्रै छलफल गर्नुपर्छ भन्ने विषयमा मा सबै गम्भीर रहेको बताए ।

तुलाधर भाषा र पहिचानको आन्दोलन, प्रेस स्वतन्त्रता, मानव अधिकार, राजनीतिककर्मी, अधिकारका निम्ति लड्ने, नागरिक आन्दोलनका अगुवा तथा साहित्यकरुपमा बहुआयामिक व्यक्ति भएको अध्यक्ष दाहालले स्मरण गरे । इमान्दारिता, सरलता र भावुकताका दृष्टिले देशभक्त र लोकतन्त्रवादी नेता भएको चर्चा गर्दै, तुलाधर र दमनाथ ढुङ्गानाको सक्रियता र योगदान नभएको भए शान्ति र लोकतान्त्रिककीरणको प्रक्रिया अगाडि आउन गाह्रो हुने उहाँले स्मरण गरे ।

भूमिगतरुपमा आफूलाई भेटी शान्ति प्रक्रियामा जानुपर्छ भनेर उत्प्रेरित गर्ने, विश्वास र भरोसा पनि गर्ने र कमजोरी केलाउन सक्ने भएकै कारणले उनलार्इ अभिभावकको रुपमा आफुले सम्झने गरेको दाहालले बताए । फरक प्रसङ्ग जोड्दै अध्यक्ष दाहालले बालुवाटारलगायत देशका धेरै क्षेत्रका जग्गाको सम्बन्धमा अहिले पार्टीले छलफल केन्द्रित गरेकोसमेत जानकारी दिए ।

पुस्तक लोकार्पणमा आफ्ना भनाई राख्दै मानव अधिकारकर्मी दमनाथ ढुङ्गानाले राष्ट्रको विकास र रुपान्तरणमा तुलाधरको योगदान अविस्मरणीय रहेको बताउँदै उनको स्मृतिमा प्रतिष्ठान स्थापना गर्ने भनेर यसअघि मन्त्रीबाट आएको कुरा व्यवहारमा लागू गर्न आग्रह गरे ।

अर्का अधिकारकर्मी मल्ल के सुन्दरले पुस्तकका बारेमा चर्चा गर्दै यसमा तुलधारको जीवनी, उनले विभिन्न कालखण्डमा गरेको भाषण र उनका विषयमा विभिन्न व्यक्तिले बोलेका कुरा पुस्तकमा समावेश भएको उल्लेख गरे । कार्यक्रममा लेखक जितेन्द्र रसिक र महिला अधिकारकर्मी स्टेला तामाङलेसमेत आफ्ना भनाइ राखेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा