fbpx

बाग्लुङको काठेखोला गाउँपालिकाको एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गतआलु भण्डारण गृह



नेपालबहस संवाददाता
 



अालु

बाग्लुङ ।   काठेखोला गाउँपालिकाले गाउँपालिका–३ स्थित धम्जा, असौजेर्मा आलु भण्डारण गृह’ निर्माण गर्न थालेको छ । यसका लागि गाउँपालिकाले यस आवमा रु आठ लाख बजेट छुट्टाएको हो । उक्त बजेटबाट जगमा पर्खाल उठाउने काम भइरहेको निर्माण समितिका अध्यक्ष भविलाल विकले बताए । थप बजेट उपलब्ध भए यही वर्ष निर्माण सक्ने लक्ष्य समितिको रहेको छ । “अहिलेको बजेटले जग र भुइँतलासम्म ढलान हुन्छ”, अध्यक्ष विकले भने, “गाउँपालिका पनि स्रोत जुटाएर काम सक्ने पक्षमा छ ।” थप बजेट उपलब्ध नभए भण्डारण गृहको काम अर्को वर्षसम्म धकेलिनेछ ।

एकतले उक्त गृहमा दश टनसम्म आलु भण्डारण गर्न सकिने जनाइएको छ । भण्डारण गृह बन्ने भएपछि यहाँका आलु किसान खुशी भएका छन् । घरमा राख्दा चाम्टिने, कुहिने, किरा लाग्नेजस्ता समस्या झेलेका किसानले अब सहजै आलु भण्डारण गर्न पाउनेछन् ।

खेतबारीबाट झिकेको आलु लामो समयसम्म ताजा र सुरक्षित राख्न भण्डारण गृह उपयोगी मानिन्छ । धम्जाको असौजे, ओखले, सायकटेरा, तारेभीर र देउराली मुख्य आलुखेती हुने क्षेत्र हुन् । धम्जालाई आलुको ‘पकेट गाउँ’ का रूपमा चिनिन्छ ।त्यहाँ झण्डै २०० घरले व्यावसायिक आलुखेती गर्दै आएको वडाध्यक्ष याम श्रीसले बताए । “आलु धम्जाको मुख्य नगदे बाली हो”, उनले भने, “यहाँको उत्पादन बढाउन र व्यवसायीकरणमा भण्डारण गृहले सघाउने हाम्रो विश्वास छ ।” गाउँपालिकाले पनि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तर्गत आलुका लागि धम्जालाई छनोट गरेको हो ।

धम्जाका एकै घरपरिवारले तीस मुरीसम्म आलु फलाउने गरेका छन् । धम्जाको आलु स्वादिलो हुने हुँदा सदरमुकामलगायत बजार क्षेत्रमा यसको माग पनि बढ्दो छ । खन्दाखन्दै किन्दा प्रतिपाथी रु १०० सम्म आलु बिक्री हुने गरेको छ । प्राङ्गारिक मल प्रयोग गरिने हुँदा धम्जाको आलु स्वास्थ्यवद्र्धक पनि मानिन्छ । किसानले ओखले क्षेत्रलाई ‘जैविक गाउँ’ घोषणा गर्ने तयारी पनि अघि बढाएका छन् ।