८ आश्विन २०७८, शुक्रबार
राजनीति

सरकारलाई जवाफदेही बनाउन ५८ सदस्यीय छायाँ सरकार गठन

सरकारको काम रचनात्मक र सिर्जनशिल हुनुपर्छ

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार २२:५८


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गतिविधिमा सुक्ष्म निगरानी गर्दै सरकारलाई जवाफदेही बनाउन भन्दै छायाँ सरकार गठन गरेको छ ।

कांग्रेसले गठन गरेको छायाँ सरकारको काम रचनात्मक र सिर्जनशिल हुनुपर्ने सरकारको टिप्पणी छ भने जानकारले पनि कांग्रेसको प्रयासलाई सकारात्मक भनेका छन् ।

कांग्रेसले गठन गरेको छायाँ सरकार ५८ सदस्यीय छ । विगतमा जम्बो मन्त्रीमण्डल गठन गरेर आलोचना खेपेका सभापति शेरबहादुर देउवाले सबै समूह–उपसमूह मिलाएर छायाँ सरकार पनि जम्बो नै बनाएका हुन् ।

मन्त्रालयस्तरीय समन्वय समिति नाम दिइएको छायाँ सरकारमा अधिकांश मन्त्रालयका लागि एक संयोजक र दुई जना सदस्य तोकिएको छ ।

श्रम, वन र सहरी विकासमा भने संयोजक र एक सदस्य छन । कानून, न्याय तथा संसदीय मामिलामा संयोजक मात्रै छन । सरकारका गतिविधि स्वेच्छाचारी बन्दै गएको भन्दै तिनको सुक्ष्म निगरानी र नियन्त्रणका लागि छायाँ सरकार गठन गरिएको कांग्रेसको भनाइ छ ।

छायाँ सरकारमा पर्नसमेत कांग्रेसका सांसदहरुको होडबाजी थियो । अधिक इच्छुकलाई समेट्न र समूहगत व्यवस्थापन मिलाउन आकार ठूलो बनाइए पनि विषयगत ज्ञान नभएकालाई छायाँ सरकारमा समेटिएको र सबैलाई खुसी पार्ने प्रबृत्तिलाई बढवा दिएको भन्दै सभापति देउवाको आलोचना पनि सुरु भएको छ । मन्त्रिपरिषद्का सदस्यले भने छायाँ सरकारको गठनलाई सकारात्मक मानेका छन् ।

संसदीय व्यवस्था भएका मुलुकमा छायाँ सरकारको अभ्यास गरिन्छ । नेपालमा पनि २०४८ सालमा तत्कालिन प्रमुख विपक्षी दल नेकपा एमालेले मनमोहन अधिकारीको नेतृत्वमा छायाँ सरकार बनाएको थियो ।

त्यस बेलाका छायाँ गृहमन्त्री केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । सरकारलाई थप जवाफदेही र जिम्मेवार बनाउन छायाँ सरकार प्रभावकारी हुने विज्ञको भनाइ छ ।

यसअघि कांग्रेसले केही स्थानीय तहमा कांग्रेसले छायाँ सरकार बनाएको थियो । सरकारका हरेका गतिविधिको आलोचना गदै आएको कांग्रेसले गठन गरेको छायाँ सरकारले सरकारलाई थप जवाफदेही र प्रभावकारी बनाउन कस्तो भूमिका खेल्छ भन्ने चासो छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा