गभर्नर चिरञ्जीवी नेपाल
Advertisement

स्याङ्जा । स्याङ्जाको वालिङमा दुईदिने वित्तीय जागरण अभियान शुरु भएको छ । वित्तीय जागरण अभियानको उद्घाटन गर्दै नेपाल राष्ट्र वैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अवसरको सदुपयोग गर्न नजान्दा व्यापार घाटा बढेको बताएका छन् । सहजै उपलव्ध हुने श्रोत साधनको प्रयोग गर्न नजानेकै कारण व्यापार घाटाको डरलाग्दो स्थिति देखापरेको गभर्नर नेपालको दावी छ । बैकिङ तथा बीमा एक्स्पोको उद्धघाटन गर्दे गभर्नर नेपालले जताततै अवसरै अवसर हुँदा पनि हामीले प्रयोग गर्न नजानेको बताए ।

नेपालीको ध्यान वैदेशिक रोजगार र जागिर खानेतर्फ मात्रै गएको भन्दै नेपालले अब स्वदेशमा नै उत्पादनसँग जोडिनु अति आवश्यक रहेको धारणा राखे । राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै आएको जानकारी दिदै गभर्नर नेपालले भने,“ घरघरमा नै पैसा आईपुग्दा पनि हामीले सदुपयोग गर्न नसकेकै कारण पछाडि परेका हौं ।” गाउँ गाउँमा वैंक तथा वित्तीय संस्था खुलेका छन् ,आवश्यकता अनुसार कर्जा लिन सकिने अवस्था छ ,नेपालले भने ।

तर पनि हामी व्यवसाय गर्न नसक्नुको पछाडि वित्तीय जागरण नहुनु अर्काे महत्वपूर्ण पाटो रहेको भन्दै नेपालले राष्ट्र बैंकले जागरण अभियानलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताए । पैसाको महत्व बुझ्न आग्रह गर्दै गभर्नर नेपालले भने हाम्रो गाउँ—ठाउँ हामी आफै बनाउनु पर्छ ।

Advertisement

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँणले भर्खर प्रस्तुत भएको बजेटमा विकास खर्च कम हुनु, ठूलो अन्तरको व्यापार घाटा रहनु तथा ऋणद्वारा घाटा बजेट परिपुर्ति गर्नुपर्ने जस्ता कारणले आगामी बर्ष पनि तरलताको अभाव हुने दावी गरे । कर्जाको ब्याज घट्न सकेन भने लगानीकर्ता उत्साहित हुन नसक्ने भन्दै राष्ट्र बैंकलाई उचित मौद्रिक नीति अवलम्वन गरि लगानी मैत्री वातावरण बनाउन खाँणले आग्रह गरे । नेपालको विकासमा वाधकका रुपमा रहेका बाँझिने खालका केही कानुन तत्काल हटाउनु पर्ने धारणा राख्दै खाँणले भने अनावश्यक कानुन कै कारण पनि देश अगाडि जान सकेको छैन । स्थानीय सरकारबाट पाउनु पर्ने सबै सहयोग बैंक तथा वित्तीय संस्थाले पाउनेछन् तर उनीहरुको सेवा प्रवाह गाउँ—गाउँसम्म पुग्नु आवश्यक छ ।

कार्यक्रममा बोल्दै डेभलपमेन्ट वैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकालले आफूहरु गाउँ—गाउँ पुगेर सेवा दिन तयार रहेको बताए । रोजगारको खोजीमा विदेश जाने क्रम रोक्न आफूहरुले कर्जाको प्रवाह सरल गराउदै लगेको ढकालले दावी गरे । गरिमा विकास वैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालले भने आफूहरुसँग रहेको निक्षेपलाई कृषि पर्यटन आदिमा लगानी गरी समग्र स्याङ्जाको विकासमा सहयोग गर्न तयार छौं ।

सो अवसरमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले व्यापारीका विभिन्न समस्याका वारेमा गर्भनर डा. नेपालको ध्यानाकर्षण गराएका थिए । स्याङ्जाको व्यापारिक अवस्था, औद्योगिक बनाउन सकिने अवस्था, हाइड्रोपावर जस्ता सम्भावनाको अवस्था बारे जानकारी गराएका थिए । बित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु भएको एक्स्पो दुई दिनसम्म चल्नेछ ।

मिडिया ईन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैकको प्रवद्र्धन, बीमा समितिको सहकार्य र वालिङ उद्योग बाणिज्य संघको सहकार्यमा हुने एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, बित्तीय साक्षरता सम्वन्धी विशेष अन्तरक्रिया गरिने आयोजकले जानकारी दिएको छ । ग्रामिण अर्थतन्त्रको विकास, लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ राष्ट्र बैकको योजना अनुसार एक्स्पोको आयोजना गरिएकोे बित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी दिए ।

बीमामा पहुँच अभिवृद्धि, हुण्डीको न्युनीकरण, उद्यमशीलताको विकास,ग्रामिण अर्थतन्त्रको चलायमानमा एक्स्पोले महत्वपूर्ण योगदान दिने आयोजकले बताएको छ ।

Advertisement