Advertisement

बैतडी । शनिबार राति आएको भिषण हावाहुरीले बैतडीको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ ।

त्यस्तै पाटनकै दलबहादुर विष्ट र गोपालसिंह महराको घरको छाना पनि हावाहुरीले उडाएको छ । त्यस्तै हावाहुरीले नै पाटन नगरपालिका–८ खोडपेमा रहेको भगवती महिला बहुउद्देश्यीय कृषि सहकारी संस्थाको दुईकोठे टिनको छाना पनि उडाएको छ ।

विसं २०१८ मा स्थापना भएको र हाल ३०५ विद्यार्थी अध्ययनरत विद्यालयको छाना उडेपछि पठनपाठनमा समस्या भएको छ ।त्यसतै हावाहुरीका कारण विद्यालयको २ लाख ५० हजार को क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए ।

Advertisement

कक्षा १, २ र ३ को कक्षाकोठा रहेका भवनको टिन छाना उडाउँदा भित्र रहेका २६ बोरा सिमेन्ट, डेस्कबेन्चलगायत अन्य शैक्षिक सामग्री पनि भिजेर नष्ट भएको उनले बताए । कक्षा १० सम्म पढाइ हुने सिद्धेश्वर मावि हुक्केडाँडा बैतडीकै नमूनाउन्मुख विद्यालय हो ।

Advertisement