Advertisement

गोरखा । गोरखामा २०७२ बैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाकस्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययरत कल्पना गुरुङलाई अचेल विद्यालय आउँदा बेग्लै खुशी मिल्छ ।

चार वर्ष त्रिपाल र अस्थायी टहरामुनी कष्टकर समय गुजारेपछि अत्याधुनिक भवनमा पढ्न थालेकी छिन् गुरुङ । अब न गर्मीमा जस्ता तातेर बाफिनुपर्ने पीडा न जाडोमा शीत चुहिएर आत्तिनुपर्ने अवस्था ।

यस माविका ६ सय ३२ विद्यार्थी एक महिनाअघि अत्याधुनिक भवनमा सरेका छन् । कल्पना गुरुङजस्तै कक्षा १० कि सुनिता घले र कक्षा ९ का निर्देश बिसीका अनुहारबाट नयाँ भवनमा सर्न पाएको खुशी लुक्दैन ।

Advertisement

बैशााख १२ को भूकम्पले बारपाकका सबैजसो घरमात्र लडाएन् कल्पना गुरुङजस्तै सयौं विद्यार्थी अध्ययन गर्ने विद्यालय पनि क्षतिग्रस्त बनाइदियो । धन्न त्यो शनिबारको दिन थियो । विद्यालय लागेको समय हुन्थ्यो भने कल्पनाजस्ता कलिला विद्यार्थीहरुको अवस्था कस्तो हुँदो हो ? अनुमान मात्र गर्न सकिन्छ ।

तर, अब बारपाक बजारको प्रवेशद्धारबाट २ सय मिटरमा अवस्थित फराकिलो क्षेत्रमा विद्यालय पुनर्निर्माण भएको छ र कलिला नानीहरु ढुक्कले पढन पाउनेछन् । ६ वटा अत्याधुनिक भवनहरुमा १६ वटा कक्षाकोठा छन् जहाँ शिशु कक्ष ‘इसिडी’ देखि कक्षा १० सम्म पढाइ हुन्छ ।

त्यस अतिरिक्त नयाँ भवनमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षमात्र छैनन् विद्यालयका कार्यक्रम गर्न सभाहल पनि छ । विद्यालय परिसरमा छात्र र छात्राका लागि अलगअलग शौचालय बनाइएको छ । विद्यालय संरचना अपांगमैत्री छ । विद्यालय परिसर वरिपरि तारजालीको बार लगाइएको छ । बगैंचा तथा कृषिसम्बन्धी प्रयोग गर्न आवश्यक बारीका लागि प्रशस्त ठाउँ छुट्याइएको छ ।

यी भवनहरु जापान सरकारको अफिसियल डेभलप्मेन्ट एसिस्टेन्सअन्तर्गतको सहुलियत ऋण सहयोगमा बनेका हुन् । सम्पूर्ण विद्यालय अवधारणामा बनेको यस विद्यालयको लागत ११ करोड छ । सोही अवधारणा अनुसार विद्यालयका लागि चाहिने बेञ्च, दराज उपलब्ध छन् भन् प्रयोगशाला तथा पुस्तकालयका आधारभूत संरचना निर्माण भएका छन् ।

जेठको २३ गते विद्यालय परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी विद्यालय संरचना स्थानीय तह र विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको विशेष उपस्थिति थियो ।

त्यस्तै, प्रदेशमन्त्री, प्रदेश सांसद, स्थानीय जनप्रतिनिधिहरु, जापान सहयोग नियोगका नेपाल प्रमुखलगायत पनि उपस्थित थिए । नवनिर्मित विद्यालय संरचनाबाट खुबै प्रभावित देखिनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले बारपाकीको जीविकोपार्जनको टेवा पु¥याउन प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पर्यटनको संभावना बोकेको क्षेत्र भएकोले होमस्टे, मौलिक उत्पादनमूलक घरेलु उद्योग आदिमा लगानी गर्न सुझाव पनि दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विद्यालयको भौतिक संरचना बनेकोले शैक्षिक गुणस्तरमा ध्यान दिन स्थानीय सरकार, विद्यालय व्यवस्थापन, शिक्षक तथा अभिभावकलाई आग्रह गरे। उनले विद्यालय स्थानीय तह र व्यवस्थापन समितिको स्वामित्वमा गएकोले यसको सही ढंगले संरक्षण गर्न पनि सुझाव दिए ।

विद्यालय स्थानीय तह हुँदै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण हुँदै गर्दा माथिल्लो कक्षाका विद्यार्थी सिमसिमे पानीमा छाता ओढेर कार्यक्रम हेर्दै र वक्ताहरुको भाषणा सुनिरहेका थिए । साना कक्षाका केटाकेटीहरु नयाँ भवनका प्यासेजहरुमा निस्फिक्री खेलिरहेका थिए । यस्तो लाग्थ्यो मानौं उनीहरु बर्षौंदेखि खेल्न पाएका छैनन् ।

भूकम्पको केन्द्रबिन्दु बारपाकमा निजी आवासमा उल्लेख्य प्रगति भइसकेको छ । बारपाक सुलिकोट वडा नम्बर १ का वडाध्यक्ष रोशन कुमार विकका अनुसार यहाँका ९० प्रतिशत घर पुनर्निर्माण भइसकेका छन् ।

नयाँ स्वास्थ चौकी बनिसकेको छ भने विद्यालय पुनर्निर्माणको कार्य पनि सम्पन्न भएको छ । भूकम्प स्मृति पार्क निर्माणका काम अघि बढेको छ ।

समुद्री सतहभन्दा १९१५ मिटरको उँचाईमा रहेको बारपाकले भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति व्यहोर्यो । तर, भूकम्पको केन्द्रबिन्दु भएकाले देशकै ध्यान र लगानी पनि पाउन सफल भयो ।

यति विकट क्षेत्रमा ११ करोडको विद्यालय भवन बारपाकीका लागि ठूलो मौका पनि हो । अब भौतिक संरचनाजस्तै शिक्षाको गुणस्तरमा पनि मेहनत गरेर बारपाकीले आफूलाई अब्बल प्रमाणित गर्ने बेला आएको छ । सुविधासम्पन्न भवन त राम्रो शिक्षाका लागि साधन मात्र न हो ।

Advertisement