Advertisement

स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मंगलबारदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत विवरण संकलनका काम सुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दासको फोटो खिचेर आवश्यक ब्यक्तिगत विवरण संकलन गरी सो कामको सुरुवात गरिएको हो । संकलन कार्य सुरु भएको जानकारी गराउदै प्रमुख सुन्दासले राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुदाँ सबैले परिचयपत्र बनाउनु पर्नेमा जोड दिइन् ।

जिल्लाका सबै गाउँपालिका र नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा विवरण सङ्कलन गरेर ८ महिनाभित्र सक्ने गरी काम गरिने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए । लगत सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्रमा बाँडिने छ । अबदेखि नागरिकता पाएकै दिन परिचयपत्रको लागि आवश्यक विवरणभरी राष्ट्रिय परिचयपत्र विवरण भर्ने व्यवस्था मिलाइएको पनि प्रजिअ निरौलाले बताए ।

दश डिजिटल नम्बर रहेको परिचय पत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औंठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना समेत उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र ब्यवस्थापन तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित ब्यक्तिले पाउनेछन ।

Advertisement

सरकारले थप गरेका १५ जिल्ला अन्र्तगत गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा जिल्ला अन्र्तगत स्याङ्जाले आर्थिक बर्षको अन्तिम दिन मंगलबारदेखि राष्ट्रिय परिचय पत्र बितरणको काम सुरु गरेको हो । औंठा छापसहितको विवरण भएको परिचयपत्र स्मार्ट कार्डजस्तो हुने सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिए ।

Advertisement