पशुपतिनाथलगायत शिव मन्दिरमा बोलबम यात्रीको लर्को
नेपालबहस संवाददाता
साउन १३, २०७६ सोमबार १९:५३:४३
पूर्णप्रसाद मिश्र/रासस
काठमाडौं । साउन महीनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पवित्र नदी, ताल, तलाउ एवं पोखरीबाट शुद्ध जल लगी चढाउने भक्तजनको भीड लागेको छ ।
पशुपतिनाथमा वाग्मतीको शिरोभाग सुन्दरीजलबाट जल ल्याई चढाउने भक्तजनको लर्को छ । आइतबार राति नै सुन्दरीजल गई बसेका बोलबम यात्री बिहान सुन्दरीमाई मन्दिरमुनिको नदीमा स्नान गरी जल सङ्कल्प गरेपछि काँवरमा राखेर त्यहाबाट ल्याएको जल पशुपतिनाथमा चढाउन लाम लागेका छन् ।
बोलबम यात्रीको सङ्ख्या बढेपछि भुवनेश्वरी मन्दिरतिरबाट छुट्टै प्रवेश गर्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । पशुपति क्षेत्रमा पहेँलो कपडा लगाएका बोलबम यात्रीको आज बिहानैदेखि विशेष भीड छ । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोलबम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिरसम्मको करीब ११ किमी यात्रा गरिरहेका छन् ।
यसरी बोलबम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूध, बेलपत्रलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एकपटक साउन महीनामा घरघरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नभई सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता छ ।
साउन महीनामा वाग्मतीको शिरोभाग सुन्दरीजलबाट शुद्ध जल लगी पशुपतिनाथमा चढाएपछि मनोकामना पूरा हुने भएकाले भक्तजन यहाँ आउने गरेको बताउँछन् । सिराहा स्थायी घर भई हाल कुलेश्वरमा बस्दै आउनुभएका श्यामसुन्दर यादव बोलबम यात्रा गरी पशुपतिनाथमा जल चढाएपछि सन्तान प्राप्ति भएकाले प्रत्येक वर्ष यात्रामा आउने गरेको सुनाउछन्।
पशुपतिनाथलाई १२ ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारतीय तीर्थयात्रीसमेत सुन्दरीजल–पशुपति बोलबम यात्रामा आउने गरेका छन् । पूर्वाधारको विकास गरी प्रत्येक वर्ष साउन महीनामा सुन्दरीजलबाट पशुपतिनाथसम्म बोलबम यात्रालाई व्यवस्थित गर्नसके लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायी बताउँछन् ।
गोकर्णेश्वर नगरपालिकाले सुन्दरीजलमा बोलबम धाम बनाउन लागेको नगरप्रमुख सन्तोष चालिसेले बताए । सुन्दरीजल, गोकर्णेश्वर महादेव मन्दिर र पशुपतिनाथलाई जोडेर धार्मिक पर्यटकको आवागमनलाई वृद्धि गर्ने कामलाई नगरपालिकाले प्राथमिकता दिने उनको भनाइ छ ।
पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने दर्शनार्थीकोसमेत बिहानैदेखि भीड लागेको छ । साउनको दोस्रो सोमबार पनि बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको कोषले जनाएको छ ।
अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
पशुपतिनाथको पूर्व ढोका भने जल ल्याउन मात्र उपयोग गरी भक्तजन प्रवेश गर्न नदिइएको सदस्य सचिव डा ढकालले बताए । साउनको सोमबार बढी भक्तजन पशुपतिनाथ मन्दिर आउने भएकाले अतिरिक्त जुत्ता चप्पल कक्षकोसमेत व्यवस्था गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले बताए ।
साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड देखिन्छ ।
रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको छ । गहनालगायत बहुमूल्य चीजबीज मन्दिरमा लगाएर नआउन कोषले भक्तजनमा आह्वान गरेको छ ।
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाई पनि प्रचलित छ । घरघरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् ।
यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते गरी चार सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यता छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।
यसैगरी उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनी चिनिने शिवालय, नागेश्वर, डोलेश्वर, आशापुरेश्वर, कुम्भेश्वरलगायत शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको छ । उपत्यका बाहिरका शिव मन्दिरमा पनि भक्तजनको भीड छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसले मंगलबार विहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने
बैशाख ३१, २०८१ सोमबार
के तपाई फिट रहन प्रोटिन पाउडर खानुहुन्छ ? होसियार
बैशाख ३१, २०८१ सोमबार
जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने
बैशाख ३१, २०८१ सोमबार
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरूलाई ब्याग वितरण
बैशाख ३१, २०८१ सोमबार
भारतमा लोकसभाको चौथो चरणको मतदान जारी
बैशाख ३१, २०८१ सोमबार
मुक्तिनाथ विकास बैंकद्वारा धादिङका विद्यार्थीहरूलाई स्टेशनरी सामान वितरण
बैशाख ३१, २०८१ सोमबार