२ असोज काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाई त्यत्ति सजिलो नभएकोतर्फ पनि संचार माध्यामहरुलाई सचेत गराए ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ ? भनेर एकीन गर्ने अवस्था नरहेको स्पष्ट पारे ।
उनले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढ्दै गइरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने÷नहुने बहसको विषय भएको पनि बताए ।