५ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट बुकिङ खुला भएको छ ।
लामो दूरीको यात्राका लागि आजबाट टिकट बुकिङ खुला भए पनि नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायीले जनाएको छ ।
दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ । यसरी घर फर्किनेमा अधिकांश सार्वजनिक यातायातकै प्रयोग गर्नेहरु हुन्छन् । तर, लामो दूरीका सार्वजनिक बस सीमित संख्यामा हुँदा दशैंमा घर जाने यात्रुले असहजता झेल्दै आइरहेका छन् ।
यसैबीच, यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा आएको छ । बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले यातायात व्यवस्था विभाग वा ट्राफिक प्रहरीमा उजुरी पनि गर्न सक्ने छन् ।