६ असोज, काठमाडौं । सामाजिक सेवाका क्षेत्रमा कार्यरत एउटा संस्थालाई रु एक लाख राशीको तुलसी मेहर समाज सेवा पुरस्कार दिने गरी सोमबार ४०औँ सामाजिक सेवा दिवस मनाइदै छ ।
गैरसरकारी संस्था र यसमा आबद्ध समाजसेवीहरूको मनोबल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न प्रत्येक वर्ष एउटा संस्था र सात समाजसेवीलाई पुरस्कार वितरण गरिँदै आइएको छ । पुरस्कृत संस्था र व्यक्तिको नाम सोमबार नै सार्वजनिक हुनेछ ।
महिला, बालबालिका तथा सामाज कल्याणमन्त्री थममाया थापाले समाज सेवामा लाग्नका लागि पवित्र मन, बचन र कर्मको आवश्यकता पर्ने बताइन । समाज सेवामा लाग्न चाहने व्यक्तिलाई नयाँ संरचनामा कसरी समेट्ने भन्ने छलफल भइरहेको उनको भनाइ छ । उनले भनिन, “प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने विषयमा छलफल भइरहेको छ ।” समाज कल्याण परिषद्का सदस्य–सचिव राजेन्द्रकुमार पौडेलले समाजमा विस्तारै सेवाको भावना कम हुँदै गएको बताइन ।
असीभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मूल समारोहस्थलमा विकास प्रदर्शनी हुने उनले बताए । दिवस मूल समारोहमा उपस्थित हुन करीब एक हजार ८०० पाहुनालाई निमन्त्रणा गरिएको छ ।
सामाजिक सेवा दिवस मुलुकभर मनाउन ३२० सामुदायिक रेडियोसमेतलाई परिचालन गरिएको उनले बताए । २५ उत्कृष्ट लेख रचनासहितको सामाजिक विकास विशेषाङ्क विमोचन गर्ने कार्यक्रम छ । उनले भने, “सामाजिक सङ्घसंस्था र मिडियासँग सहकार्य गरेरै यो दिवस भव्य रूपमा मनाउन लागिएको हो ।”