२६ माघ २०७९, बिहीबार
समाचार

दक्षिण अफ्रिकामा गैंडाको चोरीशिकारीमा कठोर कदम

प्रकाशित मिति :  ६ आश्विन २०७६, सोमबार १४:००


दक्षिण अफ्रिकामा गैंडाको चोरीशिकारीमा कठोर कदम

६ असोज, एजेन्सी । दक्षिण अफ्रिकाले गैंडाको चोरीशिकारीमा कठोर कदम लिएसँगै गैंडा मारिनेक्रम घटेको दक्षिण अफ्रिकी मन्त्री बारबरा क्रिसीले बताएका छन् ।

वातावरण, वन तथा मत्स्यपालन मन्त्री बारबराले यस वर्ष जनवरीदेखि जुनसम्मका छ महिनाको अवधिमा देशभर करिब ३१८ वटा गैंडाको चोरीशिकारी गरेको जानकारी दिए। अघिल्लो वर्षको यही अवधिमा ३८६ गैंडाको चोरीशिकारी भएको थियो ।

विश्व गैंडा दिवसको सन्दर्भमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बारबराले उक्त जानकारी दिए । अफ्रिकाको उत्तरमा रहेको क्रुगर राष्ट्रिय निकुञ्जमा चोरीशिकारी बढेको तथ्याँक छ । मन्त्री बारबराका अनुसार यसै वर्षको छ महिनामा यस निकुञ्ज क्षेत्रमा १९० वटा मारिएका छन् ।

अफ्रिकाकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रका रुपमा रहेको यस निकुञ्जमा यस वर्षको छ महिनामा एक हजार २०२ वटा चोरीशिकारसँग सम्बन्धित घटना भएको पाइएको छ ।

उनले गैंडा जोगाउन दक्षिण अफ्रिकाले एकीकृत रणनीतिक कार्यविधि कार्यान्वयन गरिरहेको र यसको नतिजा निकै सकारात्मक रहेको जानकारी दिए। गैंडाको सिङको माग निकै बढेका कारण अफ्रिकाका सरकारी र निजी निकुञ्जबाट गैंडाको चोरीशिकारी बढेको हो ।

निकुञ्ज आसपासका जनताको जीवनस्तर उकास्ने तथा निकुञ्जको आम्दानीमा उनीहरुको हिस्सेदारी बढाउने उपाय अवलम्बन गरेका कारण पनि गैंडा समेतका जीवजन्तुको चोरीशिकारी रोक्न सफलता मिलेको मन्त्री बारबराले बताए ।

उनले यो अभियानलाई अझ व्यापक बनाउने अफ्रिकी सरकारको योजना रहेको पनि जानकारी दिए । दक्षिण अफ्रिकामा विश्वका कूल गैंडामध्ये झण्डै ८५ प्रतिशत रहेका छन् ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा