२६ माघ २०७९, बिहीबार
समाचार

आज देशैभर कांग्रेसको प्रदर्शन

प्रकाशित मिति :  ७ आश्विन २०७६, मंगलवार १५:३५


कांग्रेस कञ्चनपुर
जनजागरण अभियानअन्र्तगत नेपाली कांग्रेस कञ्चनपुरले मंगलबार भीमदत्तनगरमा आयोजना गरेको विरोध ¥यालीमा सहभागी काङ्ग्रेस नेता तथा कार्यकर्ता । तस्वीरः शेरबहादुर सिंह

७ असोज, काठमाडौं । नेपाली कांग्रेसद्वारा जारी दोस्रो चरणको जागरण अभियान आज समापन हुँदैछ । दुई तिहाई समर्थन प्राप्त सरकारले गरेका जनविरोधी कामको भण्डाफोर गर्न कांग्रेसले हिमाल, पहाड, तराईमा गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत आज दोस्रो चरणको कार्यक्रम समापन हुने केन्द्रीय सदस्य वालकृष्ण खाँडले जानकारी दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले कैलालीको धनगढीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपनि चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखले भेट्ने कार्यक्रम तय भएकाले त्यहाँ उपसभापति बिमलेन्द्र निधिलाई पठाइएको कांग्रेसले जनाएको छ । अर्का महामन्त्री पूर्णबहादुर खड्का भने पार्टीका महत्वपूर्ण बैठकमा व्यस्त रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल प्युठानमा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् भने महामन्त्री डा. शशांक कोइराला खोटाङको सभामा संवोधन गर्नेछन् । विरोध प्रदर्शन मूलत बढ्दो महँगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरणलगायत), महिला हिंसा, बलात्कार र हत्या, संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरुद्धका मुद्दामा केन्द्रित रहने सचिव पौडेलले जानकारी दिएका छन् । यसबाहेक जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दालाई पनि प्राथमिकताका साथ उठाइने उनले बताए ।

अर्का उपसभापति विजयकुमार गच्छदारले भक्तपुर, सहमहामन्त्री डा प्रकाशशरण महतले अछाम, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, नेता गोपालमान श्रेष्ठले काठमाडौं, नेता कृष्णप्रसाद सिटौलाले सुनसरीमा सम्बोधन गर्नेछन् । नेता खाँड भने कार्यक्रममा सहभागी हुन चितवन पुगेका छन् । उनले त्यहाँ आयोजना हुने विरोध सभालाई संवोधन गर्ने छन् । यस प्रयोजनका लागि आज मंगलबार देशैभरि जुलुस निकाल्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ ।

कांग्रेस बागलुङ
दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापनका क्रमका नेपाली कांग्रेस बागलुङले मङ्गलबार बागलुङ बजारमा आयोजना गरेको र्याली । तस्वीर : रामबहादुर थापा

१५ दिनका लागि निर्धारण गरिएको दोस्रो चरणको जागरण अभियानले देशैभरि सरकारविरुद्ध प्रभावकारी सन्देश सम्प्रेषण गरेको नेता खाँणले दावी गरे । अभियानका लागि कांग्रेसले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक-एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाएको थियो भने अभियानका औपचारिक कार्यक्रम छरितो तथा पार्टीका नेता एवं प्रतिनिधिले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका गरिएको थियो । अभियानका क्रममा मुलुकभर वडास्तरीय सामाजिक संवाद कार्यक्रम, सामाजिक विसङ्गतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिएको थियो ।

यसैगरी स्थानीय सरकारको दुई वर्षे समीक्षा पनि गरिएको छ । साथै कांग्रेसको नेतृत्व रहेका तहमा जनभावनाअनुरुप अझ प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने र निर्वाचित प्रतिनिधिबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने सम्बन्धमा पनि विभिन्न स्तरमा अन्तक्र्रिया कार्यक्रम गरिएको पार्टी कार्यालयले जनाएको छ ।

जागरण अभियानको यसअघिका १४ दिनमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिएको थियो । जसअनुसार अभियानको उद्घाटनको दिन भदौ २५ गते जननायक एवं महामानव बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरुप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चितस्थलमा १०६ बिरुवा वृक्षरोपण गरिएको थियो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सङ्गठन सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य राखेर अभियान सञ्चालन गरिएको हो ।

कांग्रेस बागलुङ
दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको समापनका क्रमका नेपाली कांग्रेस बागलुङले मङ्गलबार बागलुङ बजारमा आयोजना गरेको ¥याली । तस्वीर : रामबहादुर थापा

यसअघि कांग्रेसले ७७ वटै जिल्लामा गत वैशाख २५ देखि जेठ २५ गतेसम्म अभियानको प्रथम चरण सम्पन्न गरेको थियो भने अभियानको तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भएर पुस १६ गते मेलमिलाप दिवसमा समापन हुनेछ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा