७ असोज,काठमाडौं । राजधानीमा दिनदिनै ठगीका धन्दाहरु बढ्दै गइरहेका छन् । दैनिक रुपमा यस्ता ठगीका धन्दाहरु बढ्दै गइरहेको बेला सोमबार एक अर्को ठगीको समाचार बाहिर आएको छ ।
झापा जिल्ला साविकको बुधबारे गा.वि.स. स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा नं. ७ सिफलमा बसोबास गर्ने एक व्यक्ति सोमबार मात्र नेपाल प्रहरीको फन्दामा परेका छन् । नेपाल यातायात व्यवसायी महासंघ (संयुक्त) का अध्यक्ष समेत रहेका ६० वर्षिय विष्णुप्रसाद शिवाकोटीलाई ठगीको आरोपमा नेपाल प्रहरीको दरबारमार्ग वृत्तले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका बानेश्वर बस्ने नेत्र भेटुवालसँग पारिवारिक नाता लगाई र पारिवारिक नातालाई बडो रोचक ढंगले प्रमाणित समेत गराई उनले विभिन्न मितिमा करिब ३५ लाख रुपैयाँ ठगी गरेका थिए । गत २०७५ बैशाखदेखि साउनसम्म विभिन्न बहाना देखाई पटक पटक ३५ लाख रुपैयाँ लिएका शिवाकोटीले मामा–भान्जाको साइनो प्रमाणित गराएर उक्त रकम लिएको पीडित नेत्र भेटुवालले जानकारी दिएका छन् ।
कुराकानीको क्रममा उनी भन्छन्, ‘विष्णु पहिला मामाको साइनो लगाएर मसँग सम्बन्धमा जोडिन आयो । नातालाई केलाउँदै जाँदा ऊ भान्जा पर्ने देखियो । आफ्नी सासु अत्यन्तै बिरामी भएको र एअर एम्बुलेन्सबाट विदेशमा उपचार गर्न लैजानु पर्ने भन्दै उसले पहिला मसँग १५ लाख रुपैयाँ माग्यो । उसलाई सिधै विश्वास गर्न नसकी मैले (उसकी श्रीमती) भान्जीले भनेमा दिन्छु भनी उसलाई भन्दा भान्जीले समेत हो भन्ने आशयको कुरा गर्दा उसलाई पैसा दिएको हुँ ।’
शिवाकोटीले पटक पटक गरी लिएको पैसा ३५ लाख पुग्यो । आज भोली भन्दा भन्दै पैसा फिर्ता गर्ने कुनै संकेत देखाएनन् विष्णुले । बेलाबेलामा एक महिनाको भाका राखी चेक हस्तान्तरण गर्दै गए र अन्त्यमा आफ्नो घर बेच्न पाए सबै पैसा तिर्ने शर्तमा भेटवालकै सक्रियतामा उनले आफ्नो घर समेत बिक्री गरि ४ करोड रुपैयाँ लिएर उनी फरार भए । ‘मानवीयताको नाताले सहयोग गरेको हुँ । औंलो दिँदा डुँडुल्कै निल्ने भनेजस्तो भयो । घर बेचेपछि ४ करोड लिएर त मेरो ३५ लाख फिर्ता गर्ला भन्ने सोचेको थिएँ । तर उसले पैसा फिर्ता गर्ने कुनै संकेत नदेखाएकोले उसले दिएको चेक बाउन्स गराई प्रहरीको सहयोगमा पुगेको हुँ ।’ आफू ठगिएकोमा निराश हुँदै भेटवालले भने ।
‘आफूले रकम लिएको सत्य हो । समयमा तिर्न सकिन । अब म अदालतमा नै गएर तिर्छु ।’ पैसा तिर्ने बारे विष्णुप्रसाद शिवाकोटी यस्तो प्रतिक्रिया दिन्छन् । ‘मानवियतालाई हेरेर उसले भनेको उसकै समस्या अनुसार पैसा दिइएको हो । मानवियतामा नाफा घाटा भन्ने कुरा कहाँ हेर्न मिल्छ र ? आज उसलाई प¥यो भोलि आफूलाई नपर्ला भन्न सकिन्न । मान्छेको जीवनमा समस्या त परिहाल्छ नि ? तर हातले दिँदा खुट्टालाई गाह्रो भनेजस्तै भयो ।’ भेटवालको लेनदेन मुद्धा तथा उक्त कारोबारको साँक्षीको रुपमा उभिएका स्थानीय ऋतुवर्ण सिलवालले भने । उनी अगाडि भन्छन्, ‘विष्णुको पेशा भनेको नै ठगी रहेछ । हामीलाई पनि पहिला थाहा थिएन । समस्या परेकै होला भनेर म समेतको उपस्थितिमा पैसाको कारोबार भएको हो । तर उसले पैसाको लागि जिउँदो मान्छेलाई पनि मार्दो रहेछ भन्ने कहाँ बुझियो र ? अहिले पनि सबैले उसको वास्तविकता बताउँदा छाँगाबाट खसेजस्तो भइएको छ ।’
हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गमा रहेका शिवाकोटीलाई भोलि अदालतमा पेश गरिने भएको छ । यस विषयमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरेलाई सम्पर्क गर्दा सम्पर्क हुने भने सकेन ।