८ असोज,काठमाडौं । बैंकमा हुने ठगी काण्डको नयाँ श्रृखंलाका रुपमा फेरि कृषि विकास बैंक प्रकरणको खुलासा भएको छ । प्रहरीले कृषि विकास बैंकबाट झण्डै दुई करोड रुपैयाँ घोटाला भएको प्रकरण सार्वजनिक गरेपछि मात्र जानकारीमा आएको हो ।
बैंकको दुई करोड रुपैयाँ भन्दा बढी रकम व्यक्तिको नाममा राख्दा बैंक उच्च कर्मचारीको पासवर्ड प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार ठगी प्रकरणमा बैंकको लहानस्थित उच्च कर्मचारीको पासवर्ड प्रयोग गरिएको छ । यो काण्डमा बैंक कर्मचारी नै संंलग्न भएको फेला परेको छ । यसबारे विस्तृत अनुसन्धान भईरहेको उनले बताएका छन् ।
कृषि विकास बैंकका लाहानस्थित कर्मचारीले अवैध रुपमा पैसा झिकेर प्रयोग गरेको पाइएको हो । बैंकको आयब्यय विवरणमा रहेको नाफा रकममध्ये ४ करोड रुपैयाँ उनीहरुले आफ्नो र परिवारको विभिन्न खाताहरुमा सारेको पाइएको छ।
४ करोड रुपैयाँमध्ये २ करोड रुपैयाँ उनीहरुले झिकेका छन्। उनीहरुले नौ/नौ लाख रुपैयाँका दरले दुई करोड रुपैयाँ झिकेको फेला परेको छ।
बैंकका ती कर्मचारीको पासवर्ड प्रयोग गरी यही असोज ५ गते एक करोड ४९ लाख रुपैयाँ सात जना व्यक्तिको नाममा जम्मा भएको छ । यसरी जम्मा भएको रकम उक्त समूहले देशका विभिन्न शाखामार्फत निकालेको छ । अचानक नौं नौं लाख रुपैयाँका दरले पैसा झिकिएपछि बैंक ब्यवस्थापनले निगरानी बढाएको थियो। गैरकानुनी रुपमा रकम झिकिएको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो। प्रहरीले पैसा झिक्ने कर्मचारीहरुलाई पक्राउ गरिसकेको छ। यो प्रकरणमा कुनै पनि ग्राहकको पैसा भने हिनामिना नभएको प्रहरीले जनाएको छ ।
बैंकको खाता ह्याक गरी अर्काको खातामा पैसा सार्ने काममा सहयोग गरेको भन्दै प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । उनीहरु सबै काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौबाट तीन जना र काठमाडौं बाहिरबाट ७८ जना छन् । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, निमा तामाङ,सञ्जय घले छन् भने अन्यमा बिधा सागर,लेमन तामाङ,लक्ष्मी तामाङ,निर्मला तामाङ लगायत रहेका छन् । यस्तै सिरहाबाट पुष्पराज खड्का पक्राउ परेका छन् । उनीहरुको साथबाट ३१ लाख भन्दा बढी रकम समेत बरामद भएको छ ।
बैंककै शाखा प्रबन्धकको युजर नेम र पासवर्ड प्रयोग गरेर विभिन्न ७ व्यक्तिको खातामा भुक्तानी गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ‘सफ्टवेर वा सिस्टम ह्याक भएर रकम चोरी भएको देखिँदैन,’ स्रोतले भन्यो, ‘कि त कर्मचारीले आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरेर चोरी गरेका हुनसक्छन्, कि त उनको पासवर्ड अरु कसैले चोरी गरेको हुनसक्छ ।’
तीन जना कर्मचारीहरुको युजर प्रयोग भएको छ। बैंकले आफ्नो सफ्टवेयर भित्र छिर्नका लागि कर्मचारीहरुलाई ब्यक्तिगत युजर र पासवर्ड दिन्छ। आफ्नो ब्यक्तिगत युजर प्रयोग गरेर मात्र बैंकको प्रणालीभित्र छिर्न सकिन्छ।
प्रणालीभित्र छिरेपछि उनीहरुले बैंकको नाफारघाटा खातामा जम्मा भएको रकमलाई आफ्नो खातामा सारेका हुन्। उनीहरुले सात वटा खाताबाट पैसा झिकिसकेका छन्। कुल कति वटा खातामा पैसा जम्मा गरे भन्ने चै खुल्न सकेको छैन।
नेपाल राष्ट्र बैंकले हिजै अनौपचारिक रुपमा जानकारी पाइसकेको छ। आज बिहान राष्ट्र बैंकले कृषि विकास बैंकका कर्मचारीसँग छलफल गर्दैछ । केही साताअघि चिनियाँहरुले विभिन्न बैंकको कार्ड प्रयोग गरेर साढे तीन करोड लुटेका थिए। यसको अनुसन्धान प्रहरीले गरिरहेको छ।