२६ माघ २०७९, बिहीबार
समाचार

इरानविरुद्ध सैन्य कारबाहीसहित सबै विकल्प खुला

प्रकाशित मिति :  ९ आश्विन २०७६, बिहीबार १०:०३


इरानविरुद्ध सैन्य कारबाहीसहित सबै विकल्प खुला

९ असोज, एजेन्सी । आफ्नो तेल प्रशोधन उद्योगमा केही हप्ताअघि आक्रमण भएपछि साउदी अरबले त्यसको जबाफ दिन आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ।

तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका एक प्रवक्ता अदेल अल जुबैरले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । साउदी अरबले कस्तो कदम चाल्ने भनेर निर्णय लिनुअघि विस्तृत अनुसन्धानको परिणामलाई कुर्ने उनले बताए। तर इरानलाई उत्तरदायी बनाइनुपर्ने उनको भनाइ छ।

अमेरिका र साउदी अरबले ती आक्रमणका घटनामा इरानको संलग्नता भएको आरोप लगाउने गरेका छन्।तर इरानले आफूले ती आक्रमण नगरेको दाबी गरेको छ। न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा बोल्दै इरानी राष्ट्रपति हसन रूहानीले असमझदारीले भीषण युद्ध गराउन सक्ने चेतावनी दिएका छन्।

यसअघि फ्रान्स, जर्मनी र ब्रिटेनका नेताहरूले साउदी तेल प्रशोधन केन्द्रमा भएका आक्रमणहरूमा इरानको हात रहेको बताएका थिए।

उनीहरूले साउदी अरबको आधा तेल उत्पादन प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको धारणा राखेका थिए।

इरानी विदेशमन्त्रीले अमेरिकी धारणामा युरोपेली देशहरूले स्वर मिलाएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले आफू इरानसँग सन् २०१५ मा भएको परमाणु कार्यक्रमसम्बन्धी सम्झौता कार्यान्वयनका लागि भने प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

यमनमा रहेका इरानलाई समर्थन गर्ने हूथी विद्रोहीहरूले सेप्टेम्बर १३ मा भएका आक्रमणको आफूले गरेको दाबी गरेका छन्। ती आक्रमणमा १८ वटा ड्रोन र सात वटा क्रूज क्षेप्यास्त्र साउदी तेल केन्द्रहरूलाई लक्षित गर्दै प्रहार भएका थिए। त्यसयता अमेरिकाले साउदी अरबमा थप सैनिक परिचालन गर्ने घोषणा पनि गरेको छ।

ट्रम्प प्रशासनले तेहरानविरुद्ध कडा रूपमा प्रस्तुत हुनुपर्ने र कुनै पनि समझदारी गर्दा उसले आफ्नो क्षेप्यास्त्र कार्यक्रम अघि बढाउन नसकिने सुनिश्चित गरिनुपर्ने धारणा राख्ने गरेको छ।

सीएनएन समाचारसंस्थालाई दिएको अन्तर्वार्तामा इरानी विदेशमन्त्रीले उनको देश स्थायी रूपमा परमाणुमुक्त हुन तयार रहेको तर त्यसका लागि इरानविरुद्ध लगाइएका प्रतिबन्धहरू स्थायी रूपमा नै अन्त्य गरिनुपर्ने बताएका थिए।

उनले सधैँका लागि प्रतिबन्धहरू हटाइए इरानले आफ्ना परमाणुकेन्द्रमा स्थायी रूपमा अनुगमन गर्न दिने पनि जनाएका छन्।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



मिलन नेवारको आँखा झिमीझिमी
नेपालबहस संवाददाता