९ असोज, रुपन्देही । नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले २ सय ५० वर्ष पुरानो राजनीतिक प्रणाली र सोच परिवर्तन गर्न समय लाग्ने बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै नेता दाहालले परिवर्तन नै नभएजस्तो गरी धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न विपक्षी र गणतन्त्र विरोधीलाई आग्रह गर्दै डेढ वर्षकै अवधिमा चमत्कारिक परिवर्तन खोज्नु कल्पना मात्र हुने बताएका हुन् ।
उनले निजी क्षेत्रलाई नाफा कमाउने, सुरक्षा र स्वतन्त्रता नभए लगानीको वातावरण बन्न नसक्ने भन्दै तिलोत्तमा नगरपालिकाले गरेको कामको सुरुआत देशभरकै सबै स्थानीयतहले गर्नुपर्ने बताए । समृद्ध राष्ट्रको कुरा गर्दा निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
रुपन्देहीको भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल, बुटवल भैरहवा ६ लेन सडक, बुटवल नारायणगढ सडक लगायतले पनि लगानीका लागि प्रयाप्त पूर्वाधार तयार भएको उनले बताए ।
कोटिहवामा जारी लगानी सम्मेलनमा देशभरका व्यवसायी जुटेका छन् । त्यस्तै विदेशी लगानीकर्ता पनि तिलोत्तमा सहभागी छन् । कृषि, पर्यटन, पूर्वाधार र उत्पानका झण्डै एक दर्जन ठुला परियोजनामा लगानीका लागि सम्झौता हुने नगरपालिका प्रमुख बासुदेव घिरिमेले बताए ।
सम्मेलनमा ५० अर्ब लागनी जुट्ने नगरपालिकाले दाबी गरेको छ । सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारले संयुक्त रुपमै लगानी वृद्धिका योजना र पूर्वाधार तयार गर्नुपर्ने बताए ।
लगानी सम्मेलनमा नेपाली कांग्रेसका सचेतक बालकृष्ण खाँड, नेकपाका महासचिव विष्णु पौडेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रतिनिधि सभा सदस्य घनश्याम भुसाल, छविलाल विश्वकर्मा लगायतले बोल्दै संघीयता कार्यान्वयनमा स्थानीय तहले शुरु गरेको लगानी सम्मेलन सबै स्थानीय तहका लागि उदाहरणीय भएको बताएका थिए ।