९ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई जानकारी नै नदिई सरकारले तीन जना एआईजीको सरुवा गरेको छ ।
त्यो पनि एकवर्ष अवधि नै नपुगेका उनीहरुलाई सरुवा गर्दा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरी नेतृत्वलाई एक वचन सोधेनन् । यसबाट महानिरीक्षक खनाल असन्तुष्ट रहेको समाचार स्रोतले बताएको छ ।
प्रहरी अधिकारीको सामन्यतया एकवर्ष अवधि पूरा भएपछि मात्र सरुवा गर्ने नियमको उल्लंन गर्दै तीन जना उच्च प्रहरी अधिकारीको सरुवा गरिएकाे हाे । मन्त्रिपरिषदको मंगलबार बसेको आकस्मिक वैठकले नेपाल प्रहरीका तीन जना अतिरिक्त महानिरीक्षक एआईजीको सरुवा गरेको छ ।
यसरी सरुवा हुनेहरुमा एआईजी पुष्कर कार्की, ठूले राई र धीरु बस्नेत रहेका छन् । गृह मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार , एआईजी कार्कीलाई अपराध अनुसन्धान तथा कार्य विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी राष्ट्रिय प्रहरी प्रतिष्ठानमा थिए ।
यस्तै, प्रहरी प्रतिष्ठानमा एआईजी राईलाई सरुवा गरिएको छ । यसैगरी अर्का एआईजी बस्नेतको सरुवा मानव स्रोत तथा प्रशासन विभागमा गरिएको छ । तर बस्नेतलाई काज स्वरुप राष्ट्रिय सुरक्षा परिषदमा पठाइएको छ । बस्नेतमाथि आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।