९ असोज, स्याङ्जा । कृषि विकास बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा स्याङ्जाबाट थप एक जना पक्राउ परेका छन् । बैंक ह्याक प्रकरणमा संलग्न भएको आरोपमा रामकृष्ण भुसाल प्रक्राउ परेका हुन् । भुसाल प्रतिक्षा निर्माण सेवाको प्रोपाइटर रहेको प्रहरीले जनाएको छ ।
उनीलाई प्रहरीले बिहीबार स्याङ्जाको वालिङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनी पनि बैंक ह्याक प्रकरणका नेपाली एजेन्ट भएको अनुमान गरिएको छ । उनको खातामा ६५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको प्रहरीले जनाएको छ ।
योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ । अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको थियो । अपराध महाशाखाको निर्देशनमा भुषाललाई पक्राउ गरिएको हो ।
घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका ‘काले’ भनिने पिटर भने हालसम्म फरार छन् । उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ ।
कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए । जिल्लास्थित प्रहरी महाशाखाको निर्देशनमा ह्याक प्रकरणलाई सुस्क्ष्म रुपमा अनुसन्धान गरेको बताईएको छ ।