९ असोज,पोखरा । जिल्ला अदालत कास्कीले विप्लव नेतृत्वको ने.क.पा. कास्कीका जिल्ला ईञ्चार्ज कृष्ण वाग्ले ‘रूपेश’लाई आज साधारण तारेखमा छाड्न आदेश दिएपनि प्रहरीले उनलाई अदालत परिसरबाटै पुन पक्राउ गरेको छ । माननीय न्यायाधीश दण्डपाणि शर्माको एकल इजलाशले नेता रूपेशलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।
राज्यविरूद्धको कसुर, सस्तो बजारमा भएको बिष्फोटन सम्बन्धि र एनसेल टावरमाथि आक्रमण गरि उपद्रो मच्चाएको समेतका तीन वटा आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमार्फत जिल्ला अदालत कास्कीमा रुपेश बिरुद्ध मुद्दा दायर गरेको थियो ।

नेता रूपेशको तर्फबाट अधिवक्ताहरू गोविन्द पौडेल, सन्तोष कोइराला, तिलक कोइराला र गोविन्द अधिकारी समेतले बहस गरेका थिए । जिल्ला अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएपनि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई अदालतको आदेश विपरीत पुनः गिरफ्तार गरि हिरासतमा लिएको छ ।
अदालतको आदेशले रिहा गरेपनि पुनः गिरफ्तार गरिएपछि फेरि बेपत्ता पार्न लागिएको हो कि भन्दै उनका आफन्तले चिन्ता प्रकट गरेका छन् ।