१० असोज, सिन्धुपाल्चोक । चीनको न्यालम खासाक्षेत्र रमितेको सडक भास्सिएपछि ठप्प बनेको तातोपानी नाका शुक्रबार बिहान खुलेको छ । नाका सञ्चालन भएलगत्तै दसैं लक्षित भेडाच्यांग्रा नेपाल भित्रिएका छन् ।
पहिलो चरणमा झण्डै ११ सय भेडाच्यांग्रा तातोपानी क्षेत्र भित्रिसकेको व्यवसायीले बताएका छन्। गएको शनिबार एक्कासी नाका बन्द भएपछि न्यालमबाट फर्किएका ‘पास’ वाला ५० जना व्यापारी हालै भेडाच्यांग्रा लिएर फर्किँदैछन्।
चीनले क्वारेन्टाइन प्रक्रिया सकेर परीक्षण गरेपछि खान योग्य ‘स्वच्छ मासु’ छानिएका भेडाच्यांग्रा मात्रै बिक्रीको लागि ल्याइएको हो । बर्खालगत्तै अविरल वर्षातका कारण पहिरोले अवरोध भइरहेको मितेरी पुल–न्यालम ४० किलोमिटर सडकखण्डको मर्मतसम्भार हालै सकिएको चिनियाँ प्रहरी अधिकारीले जनाएका छन्।
०७२ भूकम्प, ०७३ भोटेकोसी बाढी, बर्खापिच्छेको पहिरोले क्षतिग्रस्त चीनको भू-भागमा अन्य पूर्वाधारको धमाधम काम भइरहेको छ।
केही दिनअघि दसैं लक्षित स्याउ,पस्मिनाजस्ता अत्यधिक भारका सामग्री बोकेको दुई दर्जन कन्टेनर तातोपानी नाका हुँदै राजधानी पुगेका थिए। अहिले झण्डै ७० वटा कन्टेनर लसुन ,स्याउजस्ता सामग्री लिन गइरहेको भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए।
चिनियाँ र नेपाली कन्टेनर मात्रै आउजाउ भइरहेकाले तातोपानी नाकालाई सहजता बनाउन पहलकदमी लिएको जनप्रतिनिधिले बताएका छन्।
नेपालबाट झण्डै एकसय ८२ प्रकारका सामग्री चीन निर्यात हुने अनौपचारिक सहमतिलाई मानेर व्यापार अगाडि बढाइएको उनले बताए। उनका अनुसार मुडा, खाद्यान्न, गलैंचा ,हृयान्डीक्राफ लगायत सामग्री चीनको ल्हासा पुग्ने सहमति गरिएको थियो।